
रुकुमकोट । पूर्वगृहमन्त्री बालकृष्ण खाण भाग्नसक्ने आशंकामा अदालतबाट पक्राउ पुर्जी लिनु पहिले पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले नै जारी गर्ने जरूरी पुर्जी थमाएर उनलाई पक्राउ गरिएको हो ।
उनलाई पक्राउ गर्ने निष्कर्षमा पुगेपछि सुरूमै अदालतबाट पुर्जी लिने कि नलिने भनेर प्रहरीले केही समय छलफल गरेको थियो । तर एमाले सचिव टोपबहादुर रायमाझीजस्तै खाण पनि लुक्न वा भाग्न सक्ने आशंकामा सुरूमा जरूरी पुर्जी थमाउने र त्यसपछिमात्र अदालती प्रक्रियामा पुग्ने निर्णय गरेको प्रहरी उच्च स्रोतले बताएको छ ।
यसअघि पक्राउ परेकाहरूले खाणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको दाबी गरिएको अडिओ बाहिरिएपछि उनी प्रहरी निगरानीमा थिए। उनी जतिबेला पनि भाग्न सक्ने शंका बढेपछि प्रहरीले ‘जरूरी पुर्जी’थमाएर बुधबार पक्राउ गरेको हो।
खाणको पक्राउबारे प्रहरीले अहिले थप प्रक्रिया अघि बढाइसकेको छ। उनीविरूद्ध पक्राउ पुर्जी लिन प्रहरी काठमाडौं जिल्ला अदालत जाँदैछ।
‘टोपबहादुर रायमाझीझैं फरार हुन सक्ने भएकाले जरूरी पुर्जी दिएर पक्राउ गरिएको हो, अहिले थप प्रक्रियाका लागि गइसकेका छौं, अब अनुसन्धान अगाडि बढ्छ,’ उच्च प्रहरी स्रोतले भन्यो।
चुकुलभित्र खाण
कोही आरोपी भाग्ने आशंका भएपछि प्रहरीले जरूरी पुर्जी थमाएर नियन्त्रणमा लिन सक्ने व्यवस्था छ। घरमा प्रहरी आएको थाहा पाएपछि खाण चुकुल लगाएर बसेका थिए ।
प्रहरी अधिकारीहरूका अनुसार जरूरी पुर्जी बोकेर प्रहरीहरू बुधबार ९ बजेतिरै बालकृष्ण निवास मैजुबहाल पुगेका थिए।
पक्राउ गर्न प्रहरी आएको चाल पाएपछि उनी चुकुल लगाएर भित्रै बसेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।
उच्च स्रोतका अनुसार भित्र कोठामा रहेका पूर्वगृहमन्त्री खाणले त्यहाँबाट विभिन्न व्यक्तिलाई फोन गर्न थालेका थिए ।
धेरै बेर फोनमा अलमलिएपछि अन्ततः उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।