रुकुमकोट । नेपाली कांग्रेसका युवा नेताहरूले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका छन्।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणको अनुसन्धान अघि बढेकोमा उनीहरूले गृहमन्त्रीका कदम र प्रहरी प्रशासनका कामप्रति ऐक्यबद्धतासमेत जनाए।

केन्द्रीय सदस्यद्वय मधु आचार्य, गोविन्दराज पोखरेल, नेताहरू गुरूराज घिमिरे, भूपेन्द्रजंग शाही, रन्जित कर्ण लगायतले गृहमन्त्री श्रेष्ठलाई भेटेर कसैको दबाबमा नपरी अनुसन्धानलाई सरकारले अघि बढाउनुपर्ने आग्रह गरेका हुन्।

‘कसैको दबाबमा नपरी शरणार्थी प्रकरणमा दोषीमाथि कारबाही गरिनुपर्दछ भनेर हामीले गृहमन्त्रीलाई भनेका छौं,’ नेता रञ्जित कर्णले भन्नुभयो ।

गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार र कमिसनखोरको कनेक्सन नतोडेसम्म राष्ट्र नबन्ने भएकोले सरकार दृढतापूर्वक अघि बढ्ने विश्वास दिलाउनु भएको छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन ठगी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसमेत मुछिएका छन्। उनलाई आज बिहान प्रहरीले पक्राउ गरेको थियो।