रुकुमकोट। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भुटानी शरणार्थी प्रकरणमा थालेको प्रहरीको अनुसन्धानमा डिस्टर्ब गर्न नहुने तीन दलमा सहमती भएको बताउनुभएको छ । सिंहदरबारमा बुधबार भएको तीन दलको बैठकपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, ‘हामीले स्पष्ट भाषामा भनेका छौं ।
दोषी नछुटून् र निर्दोष नपरून्। प्रहरीले आफ्नो काम गरिरहेको छ । जे भइरहेको छ नियम र विधि पद्धतिअनुसार काम भइरहेको छ । प्रहरीको अनुसन्धानमा कुनै डिस्टर्ब गर्नुहुन्न भन्नेमा हाम्रो सहमति भएको छ ।’
मिडियामा प्रचार भएजसरी हामी तीन दलका शीर्ष नेताहरुको भेट नभएको उहाँको भनाइ छ । उहाँले सदन कसरी अगाडी बढाउने समितिहरु कसरी बनाउने विषयमा छलफल मात्रै भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ मिडियामा प्रचार भएजसरी तीन जनाको भेट भएको होइन । सदन कसरी अगाडि बढाउने, समितिहरू कसरी बनाउने भन्नेबारे छलफल भएको हो । आशंका गर्नुपर्ने कारण छैन ।’