
रुकुम(पूर्व) मा सुशासनको लागि साक्षरता अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ । “विकास समृद्धि र सुशासनको लागि हाम्रो अभियान” भन्ने मुल नाराका साथ लुम्बिनी प्रदेशको सहयोगमा रिपोर्टर्स क्बल नेपाल लुम्बिनी प्रदेशले प्रदेश भित्रका १२ वटै जिल्लामा अन्तरक्रिया कार्यक्रम गर्दै छ । सोहि क्रममा रुकुम(पूर्व) मा वैशाख ३१ गते सातौ जिल्लाको रुपमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ ।
स्थानीय सरकार र जिल्लास्थित सरकारी निकायहरुबाट प्रवाह हुने सेवाको अवस्था, त्यसबाट नागरिकको सन्तुष्टि तथा गुनासोहरु के छन् र समग्रमा सुशासन प्रवद्र्धनको लागि के कसरी काम भइरहेको छ भन्ने कुराको जानकारी संकलन गर्ने र प्रदेशस्तरमा छलफल गर्ने मुख्य उदेश्यकोे साथ अभियानको रुपमा कार्यक्रमको आयोजना गरिएको रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्रीले जानकारी दिनुभयो । यस्तै अन्तरक्रिया कार्यक्रम प्रदेशको १२ वटै जिल्लामा सञ्चालन गर्ने र सबै जिल्लामा सुशासनको अवस्था कस्तो रहेछ भन्ने कुरा बुझेपछि त्यसैको आधारमा प्रदेश सरकारसँग पनि अन्तरक्रिया तथा बहस गर्ने अध्यक्ष क्षेत्रीले बताउनुभयो ।
रुकुम(पूर्व) मा स्थानीय सरकारका प्रतिनिधि र सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुले कार्यालयबाट भइरहेको सेवा प्रवाहको अवस्था र नागरिकहरुबाट आउने गुनासोहरुको बारेमा जानकारी गराएका थिए । अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले भौगोलिक विकटता, आवश्यक भौतिक संरचनाको अभाव, दरबन्दिअनुसारको कर्मचारी व्यवस्थापन हुन नसक्नु, आवश्यक स्रोतसाधनको अभाव लगाएतका समस्याको कारण आफुहरुले भनेजस्तो र र नागरिकले चाहेजस्तो सेवा दिन नसकेको बताएका थिए ।
जिल्लास्थित सरकारी कार्यालय सँगसँगै स्थानीय सरकारको सुचना पेटीमा लिखित रुपमा नागरिकहरुले गुनासो नगरेको भएपनि मौखीक रुपमा भने गुनासो, सल्लाह, सुझाव दिदै आएका छन् । कतीपय कार्यालयको सेवा प्रवाहमा भने नागरिकस्तरबाट व्यापक गुनासो पनि आएका छन् । रुकुम(पूर्व) अस्पतालको सेवा प्रवाहको बारेमा बढी गुनासो उठेको थियो । जिल्लास्थित अधिकांस सरकारी कार्यालय र कतीपय स्थानीय तहले पनि सार्वजनिक सुनुवाइका कार्यक्रमहरु गर्ने गरेका छैनन् । यसले पनि सेवाप्रदायिक निकायहरु नागरिकप्रति उत्तरदायी, जवाफदेहि, पारदर्शि नभएका हुन् की भन्नेतर्फ संकेत गरेको देखिन्छ ।
अन्तरक्रिया कार्यक्रममा सहाभागी सेवाप्रदायिक निकायका प्रतिनिधिहरुले संघियतापछि बनेको नयाँ जिल्लामा भौतिक संरचना, कर्मचारी अभाव, भौगोलिक विकटताको सामना गर्दै सहज सेवा दिने प्रयास गरिरहेको बताएका थिए ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य सुरुल पुनको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख मेघबहादुर श्रेष्ठ, उपप्रमुख मोहनबहादुर केसी, पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पुनीराज घर्ती, निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्य, सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, भूमे गाउँपालिका उपाध्यक्ष सविना बुढा, जिल्ला प्रहरी प्रमुख डिएसपी अन्जना श्रेष्ठ लगाएत जिल्लास्थित विभन्न सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सञ्चालन सुर्यप्रकाश बुढामगरले गर्नुभएको थियो ।