
रुकुम(पूर्व) मा विपद प्रतिकार्य योजना २०८०/८१ निर्माण गरिदै छ । जसको लागि समिति गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम(पूर्व) मा निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यको अध्यक्षतामा बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले विपद प्रतिकार्य योजना निर्माणको लागि मस्यौदा लेखन समिति गठन गरेको हो ।
निमित्त प्रमुख जिल्ला अधिकारी आचार्यकै संयोजकत्वमा विभिन्न निकायहरुबाट प्रतिनिधित्व हुने गरे १७ सदस्यीय मौस्यौदा लेखन समिति गठन गरिएको छ । यस समितिले संयुक्त राष्ट्र संघिय जनसंख्या कोष(यूएनएफपिए), यूनाइटेड मिसन टु नेपाल रुकुम(पूर्व) क्ल्ष्टर(यूएमएन) र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम(पूर्व) सँगको समन्वयमा यहि जेठको २० गतेभित्र मस्यौदा तयार पारिसक्नुपर्ने छ ।
जिल्ला विपद प्रतिकार्य योजना रुकुम(पूर्व) मा २०७६ सालबाट तयार पारिदै आइएको छ । यस पटक यस प्रतिकार्य योजनालाई चौथो पटक संशोधन गरेर तयार पारिदै छ । विपद प्रतिकार्य योजना २०८०/८१ निर्माणको लागि मस्यौदा लेख्न गृहकार्य पनि सुरु गरिसकेको निमित्त प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभएको छ । उहाँकाअनुसार मस्यौदा लेखन पछि फेरी सबै सरोकारवाला निकायहरुको उपस्थितीमा छलफल गर्ने र विपद प्रतिकार्य योजना २०८०/८१ लाई अन्तिम रुप दिइने छ ।
यस्तै विपद व्यवस्थापन समितिको बैठकबाट विपदको सामना गर्न आवश्यक पर्ने सामाग्रीहरु उपलब्ध गराउनको लागि राष्ट्रिय विपद न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा लेखेर पठाउने निर्णय गरिएको छ ।