
रुकुम(पूर्व) मा मनसुनजन्य पूर्व तयारी नमुना अभ्यास गरिएको छ । जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा सिस्ने गाउँपालिका ५ स्थित कमल दहमा आज मनसुनजन्य विपदको पूर्व तयारी स्वरुप नमुना अभ्यास गरिएको हो ।
मनसुनको समय आउनै लागेको छ । यसबेलामा तालतलैया, नदिनालाको वहाव बढ्ने गर्दा डुबेर बगेर मानिसहरुको मृत्यु हुने गर्दछ । रुकुम(पूर्व) मा पनि थुप्रै खालका तालतलैया र नदिनालाहरु छन् । तीनै तालतलैया र नदिनालामा डुबेर वर्षेणी मानिसहरुको ज्यान जाने गरेको छ । यस्ता घटनाहरुबाट जोगिन र घटना भइहालेको खण्डमा कसरी उद्धारको र उपचारको काम गर्न सकिन्छ भन्ने कुराको जानकारी÷सन्देश दिन रुकुम(पूर्व) मा मनसुनजन्य घटना पूर्व तयारीको नमुना अभ्यास गरेर देखाएको निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले बताउनुभयो ।
यो मात्र नभएर विभिन्न समयमा आगलागी, सडक दुर्घटना जस्ता विपदहरुको पनि पूर्व तयारी स्वरुप नमुना अभ्यास गरेर नागरिकलाई सचेत गराएको निमित्त प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।
आज कमल दहमा, पौडी खेल्ने क्रममा डुबेकाहरुलाई रस्सिबाट तानेर, आफै डुबेको मान्छेकहासम्म पुगेर र खोँचहरुमा अल्झिएकाहरुलाई जिपलाइन जसरीनै डोरीबाट गएर कसरी बचाउन सकिन्छ भन्ने कुरालाई देखाइएको थियो । यस्तै उनिहरुलाई तालबाट निकालेपछि दिइने प्राथमिक उपचार र त्यसपछिको थप उपचारको लागि एम्बुलेन्ससम्म पुर्याइएको कुराहरुलाई नमुना अभ्यासमार्फत देखाइएको थियो । अहिले हामीकहाँ प्रचलनमा रहेको तालमा डुबेको मान्छेलाई उद्धार गर्ने गलत अभ्यासको बारेमा पनि जानकारी गराइएको थियो भने यसलाई पनि प्रयोगात्मक अभ्यास गरेर देखाइएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले मनसुनजन्य विपद पूर्व तयारी नमुना अभ्यासले घटनापछि उद्धारमा खटिने तालिमप्राप्त टोलीलाई थप अभ्यस्त बनाउने र नागरिकलाई पनि सचेत गराउने बताउनुभयो । यस जिल्लामा बेलाबखतमा नदिमा बगेर तालमा डुबेर मान्छेहरुको मृत्यु हुने गरेको बताउदै घटना भइहालेमा तत्काल सहि तरिकाले उद्धार र प्राथमिक उपचार हुन सक्यो भने मान्छेलाई बचाउन सकिने रहेछ भन्ने खालको सकारात्मक सन्देश दिने यो नमुना अभ्यासले मानिसहरुलाई सचेत गराएको उहाँले बताउनुभयो ।
निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यको अध्यक्षतामा भएको नमुना अभ्यास कार्यक्रममा जिल्ला समनवय समितिका प्रमुख मेघबहादुर श्रेष्ठको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख मोहनबहादुर केसी, सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेको विशेष आतीथ्यता रहेको थियो । यसैगरी नेपाली सेना चण्डिदल गण सुरक्षा गुल्म रुकुम(पूर्व) का सेनानी गोपालसिंह बोहोरा, जिल्ला प्रहरी प्रमुख (डिएसपी) अन्जना श्रेष्ठ, सशस्त्र प्रहरी बलका डिएसपी रविन्द्र श्रेष्ठ, अनुसन्धानका डिएसपी चिरन्जिवी बुढा, प्रहरी निरीक्षक गनेश पाण्डे, सिस्ने ५ का वडाध्यक्ष विरेन्द्र बस्नेत, ६ का वडाध्यक्ष पूर्णजंग मल्ल, नेरेस रुकुम(पूर्व) का सन्तोष ढकालसँगै विभिन्न निकायका व्यक्तित्व, शिक्षक विद्यार्थी र समुदायका मानिसहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सञ्चालन सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक सत्य बहादुर बुढाथोकीले गर्नुभएको थियो ।