रुकुम(पूर्व) मा प्रपोजल र थेसिस लेखन सम्बन्धि तालिम सुरु भएको छ । विश्वविद्यालय अनुदान आयोग नेपालको सहयोग र सिस्ने शिक्षा क्याम्पसको आयोजनामा आजबाट सिस्ने शिक्षा क्याम्पसमा पाँच दिने प्रपोजल र थेसिस लेखन सम्बन्धि तालिम सुरु भएको हो । तालिमको जिल्ला समन्वय समिति रुकुम(पूर्व) का प्रमुख मेघबहादुर श्रेष्ठले ब्यानर पढेर उद्धघाटन गर्नुभयो ।

भर्खरै मात्रमा स्नातोकत्तरको पढाई सञ्चालनको लागि अनुमती पाएको सिस्ने शिक्षा क्याम्पसमा छिमेकी जिल्लाहरुलाई पनि लक्षित गरेर प्रपोजल र थेसिस लेखन सम्बन्धिको तालिमको सञ्चालन गरिएको हो । जेठ ६ गतेबाट सुरु भएको तालिम १० गतेसम्म चल्ने छ । तालिम विशेष गरी स्नातोकत्तर अध्यन गर्ने विद्यार्थी र अध्यापन गराउने शिक्षकहरुलाई लक्षित रहेको छ । तालिममा स्नातक तह अध्यन गरिरहेका विद्यार्थीहरुको पनि उपस्थिती छ । यो तालिमले प्रपोजल र थेसिस लेखनमा सहजिकरण गर्न शिक्षक र लेख्नको लागि विद्यार्थीलाई ठुलो सहयोग पुग्ने अपेक्षा लिएको सिस्ने शिक्षा क्याम्पसका प्रमुख तिव्र गौतमले बताउनुभयो ।

पाँच दिनसम्म चल्ने तालिममा विज्ञ प्रशिक्षक डा. जिवन खनाल, डा. रुमा मानन्धर, डा. अनिल झा लगाएतले सहजिकरण गर्नुहुने छ । यो अवधिमा विषयवस्तु छनोट कसरी गर्ने, आवश्यक स्रोत कसरी जुटाउने, प्रपोजल कसरी लेख्ने, थेसिस कसरी लेख्ने भनेर तालिममा सहभागिहरुलाई सिकाइने छ । तालिममा रुकुम(पूर्व), रुकुम(पश्चिम) र रोल्पाको क्याम्पसका प्रमुख तथा विद्यार्थीहरुको सहभागिता रहेको छ ।

आज तालिम उद्धघाटन गर्दै जिल्ला समन्वय समिति रुकुम(पूर्व) का प्रमुख मेघबहादुर श्रेष्ठले घरआगनबाटै उच्च शिक्षा हासिल गर्न पाउनु र सोहि क्रममा अती आवश्यक प्रपोजल र थेसिस लेखन सम्बन्धिको तालिम पनि प्राप्त गर्न पाउनु सौभाग्यको कुरा भएको बताउनुभयो । उहाँले सहभागीहरुलाई तालिममा पूर्ण रुपमा बस्न र सिकेका कुराहरुलाई व्यवहारमा लागु गरेर उपलब्धि हासिल गर्न आग्रह गर्नुभएको छ ।

क्याम्पस संचालक समितिका अध्यक्ष हरिकृष्ण गौतमको अध्यक्षतामा भएको तालिम उद्धघाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्रेष्ठको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख प्रशिक्षक जिवन खनालको विशेष आतीथ्यता रहेको थियो । यसैगरी मुसिकोट खलङ्गा बहुमुखी क्याम्पस रुकुम(पश्चिम) का प्रमुख बुद्धिप्रसाद गौतम, स्यार्पू बहामुखी क्याम्पस रुकुम(पश्चिम) का प्रमुख तिलकराम पुन, मुसिकोट खलङ्गा बहुमुखी क्याम्पस रुकुम(पश्चिम) का पूर्व क्याम्पस प्रमुख मुकुन्दप्रसाद शर्मा, जलजला बहुमुखी क्याम्पस रोल्पाका उपप्रध्यापक अमृत बाँठामगर लगाएतको आतीथ्यता रहेको थियो ।

सिस्ने शिक्षा क्याम्पसका प्रमुख तिव्र गौतमको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शिक्षक पञ्च बहादुर केसीले गर्नुभएको थियो ।