रुकुम पूर्वः सिस्ने गाउँपालिकाले उद्यमीलाई प्रविधि हस्तान्तरण गरेको छ । गाउँपालिका कार्यालय रुकुमकोटमा एक कार्यक्रमको आयोजना गरि मंगलबार उद्यमीलाई प्रविधि हस्तान्तरण गरिएको हो ।

गाउँपालिकाबाट १२ जना युवा उद्यमीले उपयुक्त प्रविधि पाएका छन । उनिहरुले पलम्बिङ र टायल सम्बन्धिका सामग्री पाएका उद्यम विकास सहजकर्ता मदन विसीले जानकारी दिनुभयो । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपाबाट युवा उद्यमीलाई प्रविधि हस्तान्तरण गरिएको विसीले बताउनुभएको छ ।

स्थानीय आवश्यकता र युवाहरुको मागलाई ध्यानमा राखि गाउँपालिकाले पलम्बिङ र टायल सम्बन्धि तालिमको आयोजना गरेको थियो । तालिममा १२ जना युवाहरुले सहभागिता जनाएका थिए । उनिहरु सवै कमलताल युवा लघु उद्यमी समुहमा आवद्ध छन ।

गाउँपालिकाले उनिहरुलाई ४५ दिनसम्म पलम्बिङ र टायल सम्बन्धि तालिम प्रदान गरेको हो ।  तालिमका सहभागिलाई पलम्बिङ र टायल सम्बन्धि शैद्धान्तिक र व्यवहारिक दुवै ज्ञान र सिप प्रदान गरिएको प्रशिक्षक नेत्र विश्वकर्माले जानकारी दिनुभयो ।

डेढ महिनासम्म निशुल्क तालिम दिएको गाउँपालिकाले प्रशिक्षार्थीहरुलाई प्रविधि पनि हस्तान्तरण गरेको छ । उनिहरुलाई ड्रिल मेसिन, टायल कटर मेसिन, ग्यालेन्डर मेसिन, छिना, रेन्चि, हेम्बर, जमुरा, आलमुनियम फन्ट इन्चिटेप, पेचकस, लेवल पाइप लगायतका साम्रगी  वितरण गरिएको छ ।

तालिममा सहभागि सवैलाई एक व्यक्ति भिन्न प्रविधि हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिनुभयो ।

तालिम समापन, प्रविधि हस्तान्तरण तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै अध्यक्ष रेग्मीले तालिमलाई रोजगारीसंग जोडन आग्रह गर्नुभयो । जिल्लामा पलम्बिङ र टायल सम्बन्धि सिप भएका व्यक्तिको अभाव छ । नयाँ धारा जडान गर्ने र टायल लगाउने कुरा नगरौ । धारा विग्रिए, टायल फुटे त्यसको मर्मत गर्न सक्ने जिल्लामा मान्छे भेटिदैनन् । रेग्मीले भन्नुभयो अवदेखि यि समस्या समाधान तपाईँहरुले गर्नुपर्छ ।

दक्ष कामदार नहुँदा पलम्बिङ र टायलमा मात्रै जिल्लाबाट लाखौ रुपैयाँ बाहिरी रहेको छ । यो पैसा जिल्लामै राख्न सिकेको सिपको अधिकतम प्रयोग गर्न उहाँले प्रशिक्षार्थीलाई आग्रह समेत गर्नुभयो । उहाँले पाएको प्रविधिको पनि सदुपयोग गर्न भन्नुभएको छ ।

सिप सिकेका उद्यमीहरुलाई उयपुक्त प्रविधिले उत्पादन बृद्धि र लागत कम गरि रोजगारीको अवसर सिर्जना गर्न सहयोग पुग्नेछ । प्रशिक्षार्थी सुन्दर शाहले पालिकाबाट निशुल्क तालिमसंगै प्रविधि पाएपछि आफुहरु उत्साहित भएको बताउनुभयो ।

अध्यक्ष रेग्मीको अध्यक्षतामा सम्पन्न भएको प्रविधि हस्तान्तरण तथा तालिम समापन कार्यक्रममा उपाध्यक्ष गोपाल रेउले, १ नम्बर वडा अध्यक्ष रजबहादुर बुढा, २ नम्बर वडा अध्यक्ष कृष्ण बहादुर खड्का, ३ नम्बर वडा अध्यक्ष हेराम खड्का, प्रमुख प्रशासकीय अधिकृत विकास विक्रम शाह, कार्यपालिका सदस्यद्धय तिर्था पुन, थलबहादुर सार्की लगायतको उपस्थिति रहेको थियो । रुकुमका नेत्र विश्वकर्मा र दाङका मेघलाल चौधरीले तालिममा प्रशिक्षण दिनुभएको थियो ।