रुकुम पुर्व। विद्यालयहरुलाई प्रविधी मैत्री बनाउने उद्धेश्यले सिस्ने गाउँपालिमा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुकालागि तीन दिने कम्प्युटर तालिम सुरु भएको छ । तालिम पालिका केन्द्र रुकुमकोट स्थित चाइनिज होटेलमा सुरु भएको छ । तालिमको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बिहिवार एक कार्यक्रमका बीच उदघाटन गर्नुभएको छ ।
विद्यालयका शिक्षक शिक्षिकालाई कम्प्युटर सम्बन्धि आधारभूत सीप सिकाउने उदेश्य सहित तालिमको आयोजना गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मंगलसिंह बुढाले जानकारी दिनुभयो । कम्प्युटरमा आधारभूत ज्ञान नभएका शिक्षकलाई लक्षित गरी तालिम आयोजना गरिएको उहाँको भनाइ छ ।
उक्त तालिम उदघाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले तालिमलाई अबसरका रुपमा लिन सहभागीलाई आग्रह गर्नुभयो । सबै विद्यालयलाई प्रविधी मैत्री बनाउन यो तालीम अपरिहार्य रहेको रेग्मीले बताउनुभएको छ ।अध्यापनलाई प्रविधिसँग जोड्ने तालिमको अर्को उद्देश्य रहेको रेग्मीले बताउनुभयो ।
यस्तै उपाध्यक्ष गोपाल रेउलेले विद्यालयमा तथ्याङ्क दुरुस्त राख्न शिक्षकहरुका लागि तालिमको आयोजना गरिएको बताउनुभयो । प्रविधिको माध्यमबाट आवश्यक शैक्षिक सामग्री व्यवस्थापन र डिजिटल पाठयोजना निर्माणसम्मको योजना अनुसार तालिम अघि बढाइएको रेउलेले स्पष्ट पार्नुभयो । माध्यमिक तहमा रहेका जटिल विषयको समस्या निकट भविस्यमा अनलाइन प्रणालीबाट गर्ने योजना अनुरुप तालिम संचालन गरिएको गाउँपालिकाले जनाएको छ ।
बिहिवारबाट सुरु भएको तालिम शनिबारसम्म चल्नेछ । उक्त तालिममा पालिका स्थित सामुदायीक विद्यालयका ४० शिक्षक तथा शिक्षिकाहरुको सहभागिता छ । तालिममा सम्बन्धित विद्यालयका प्रअ र कम्प्युटर शिक्षकलाई समावेश गरिएको छ ।
तालिमको सहजीकरण गाउँपालिकाका सूचना प्रविधी अधिकृत इन्द्रीरा पौडेल र सरकारी वकिल कार्यालय रुकुम पुर्वका कम्प्युटर अपरेटर रबिन्द्र बुढा मगरले गरिरहनु भएको छ । तालिम उदघाटन कार्यक्रममा सामाजिक विकास समिति संयोजक तिर्था पुनले स्वागत मन्तव्य राख्नु भएको थियो ।