रुकुम(पूर्व) मा समुदायको अगुवाइमा विपद जोखिम न्यूनिकरण कार्यक्रमको समिक्षा तथा स्थानीय सरकार र सरोकारवाला बिच समन्वयात्मक बैठक सम्पन्न भएको छ । जापानीज रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम(पूर्व) मार्फत सञ्चालीत उक्त कार्यक्रमको आज समिक्षा गरिएको हो ।

यो कार्यक्रम रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ६ स्थित समुदाय र विद्यालय स्तरमा चलिरहेको छ । २०२२ अक्टोबरबाट सुरु भएको यो कार्यक्रम २०२३ डिसेम्बरसम्म चल्ने छ । समुदायको अगुवाइमा विपद जोखिम न्यूनिकरण कार्यक्रमका संयोजक सन्तोष ढकालले यो कार्यक्रममार्फत अहिलेसम्म गरिएका गतिविधिको बारेमा उपस्थित सरोकारवालाहरुलाई जानकारी गराउनुभएको थियो ।

जसअनुसार सिस्ने गाउँपालिका ६ नम्बर वडामा सामुदायिक विपद व्यवस्थापन समिति गठन, तीनै समितिलाई श्रीङ्खला समुदायमा आधारित विपद जोखिम न्यूनिकरण तालिम, विद्यालयमा जुनियर रेडक्रस सर्कल गठनसँगै उनिहरुलाई तालिम दिने कार्य गरिएको छ । विद्यालय सुरक्षा योजना निर्माणमा सहयोग गर्नुका साथै विद्यालयमा प्राथमिक उपचार सम्बन्धी तालिम प्रदान गरिएको छ । विपदलाई कसरी प्रतिकार्य गर्न सकिन्छ भन्ने विषयमा समुदाय र विद्यालयस्तरमा अन्य थुपै्र क्रियाकलाप पनि सञ्चालन भएका छन् ।

यस कार्यक्रमको लागि कुल बजेट ६५ लाख २१ हजार ५ सय १५ रुपैया रहेको थियो । जसमा हालसम्म ४९ लाख ५८ हजार ७ सय ४८ रुपैयाँ आइसकेको छ ।

समिक्षा कार्यक्रममा उपस्थितहरुले समुदायको अगुवाइमा विपद जोखिम न्यूनिकरण कार्यक्रमले गरेको काम प्रभावकारी रहेको बताएका छन् । यीनै कार्यक्रमलाई निरन्तरता दिदै स्थानीय सरकारसँग थप समन्वय र सहकार्य गरी काम गर्नुपर्नेमा स्थानीय सरकारका प्रतिनिधिहरुले जोड दिएका थिए ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम(पूर्व) का सभापती दमोदर गौतमको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख मोहनबहादुर केसी, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मि, प्रमुख जिल्ला अधिकारी माधव प्रसाद घिमिरे, गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, प्रमुख प्रशासकिय अधिकृत विकास विक्रम शाह, सिस्ने गाउँपालिका ६ नम्बर वडाध्यक्ष पूर्ण बहादुर मल्ल लगाएतको आतीथ्यता रहेको थियो ।

कार्यक्रमको सञ्चालन सन्तोष ढकालले गर्नुभएको थियो ।