
रुकुम पुर्व: अवैध लागू औषध अफिमको खेती गर्ने कार्यमा संलग्न एक जनालाई कारागार चलान गरिएको छ । अवैध अफिम खेती सम्बन्धी कसुर मुद्दामा पक्राउ परेका जिल्लाको भुमे गाउँपालिका ९ दुधेपोखराका ४१ वर्षिय कर्ण बहादुर पुनलाई कारागार चलान गरिएको हो ।
पुनलाई गत चैत २७ गते प्रहरीको गस्ती टोलीले अफिमको चोप निकाल्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो । खत्रीका अनुसार पुनले आफ्नै एक रोपनी जग्गामा अवैध अफिम खेति गरेका थिए ।
पक्राउ परेका पुनलाई कानून बमोजिम रुकुमकोट जिल्ला अदालत पेश गरिएकोमा अदालतको आदेश अनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको छ । अदालतले जेठ २३ गते पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको थियो । पुनलाई बुधबार (आज) रुकुम पश्चिमको जिल्ला कारागारमा चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वले जनाएको छ ।