रुकुम(पूर्व) मा असारको २ गते ५२ किलोमिटरको गुरिल्ला अल्ट्रा म्याराथन प्रतियोगिता २०८० सञ्चालन हुने भएको छ । पर्यटन प्रवद्र्धन गर्ने मुख्य उदेश्यका साथ जनयुद्ध कालमा गुरिल्लाहरु हिडेको रुकुम(पूर्व) र रोल्पाको रुटमा म्याराथन प्रतियोगिता सञ्चालन हुन लागेको हो । २०७५ सालबाट रुकुम(पूर्व) मा म्याराथन प्रतियोगिता सञ्चालन हुँदै आएको छ । कोभिडको कारण एक वर्ष चाहि प्रतियोगिता सञ्चालन हुन सकेन । यसपालीको म्याराथन प्रतियोगिता पाँचौ प्रतियोगिता हो ।

रुकुम (पूर्व)को महत गाउँबाट सुरु हुने दौड नैमाकिङ–लाबाङ–हुलबाङ–थोरबाङ हुँदै रोल्पाको बार्गिल–घामचिन–चिङ्कुबाङ–धङनेई–जलजला–चालाबाङ–थबाङ–जुरबाङ–पोरपोछेरा हुँदै रुकुम(पूर्व) को मारिङ– खाबाङ तिला–खाबाङ गाउँ भएर खाबाङ बगरमा आइ टुङ्गिने प्रतियोगिताका संयोजक सुनिल रोकामगरले बताउनुभयो । उहाँकाअनुसार यस प्रतियोगितामा महिला र पुरुषको पुरस्कार राशी सामान रहेको छ । प्रथम स्थान हासिल गर्नेले ५० हजार, द्धित्तिय हुनेले ३० हजार, तृतीय हुनेले १५ हजार, चौथो हुनेले ८ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी क्रमश पाँचौ देखि दशौ स्थानसम्म रहने सबैले पाँच पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै १० किलोमिटरको रमाइलो दौड(फन रन) प्रतियोगिता पनि सञ्चालन हुने संयोजक रोकाले बताउनुभयो । यस प्रतियोगिता महतबाट सुरु भइ स्यबांगपो–सानो लेक–कोईचा–खाबांगटिला–मारिंग–खालपाटे हुँदै खाबांग बगरमा आइ समाप्त हुने छ । यस प्रतियोगितामा पनि महिला पुरुषको पुरस्कार राशी बराबर छ । जसमा प्रथम स्थान हासिल गर्नेले १० हजार, द्धित्तिय स्थान हासिल गर्नेले ७ हजार पाँच सय, तृतीय स्थान हासिल गर्नेले पाँच हजार र सान्तवना स्थान हासिल गर्नेले २ हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । पाँचौ देखि दशौ स्थानसम्मकाले एकएक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

तत्कालिन माओवादीले २०५२ सालदेखि सुरू गरेको १० वर्षे सशस्त्र युद्धमा ‘गुरिल्ला’ लडाकु हिँडेका रोल्पा–रूकुमको गोरेटोलाई पछ्याउदै २०७५ देखि गुरिल्ला अल्ट्रा म्याराथन प्रतियोगिता सञ्चालन हुँदै आएको छ । माओवादी सशस्त्र द्वन्द्वकालको आधार क्षेत्रमा पर्यटन विकास तथा प्रवर्धनका लागि वर्षेनि म्याराथनको आयोजना गरेको भूमे गाउँपालिकाले बताएको छ । माओवादी द्वन्दकालको इतिहासलाई स्मरण गर्न र प्रत्यक्ष र अप्रत्यक्ष भोगाईबाट पाठ सिक्नुपर्ने भन्दै यो प्रतियोगितालाई विसुद्ध साहसिक रूपले हेरिदिन समेत गाउँपालिकाले आग्रह गरेको छ । रूकुम(पूर्व) मा प्रत्येक वर्ष आयोजना हुने गुरिल्ला अल्ट्रा म्याराथन प्रतियोगिता भूमे गाउँपालिकाले प्रवर्धन गर्दै आएको छ ।

म्याराथन खेलले यो क्षेत्रलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवर्द्धनमा ठुलो सहयोग पुगेको छ । स्थानीय संस्कृति, जनजीवन, भूगोलका साथै युद्ध पर्यटनलाई विकास र विस्तार गर्दै तत्कालीन जनयुद्धको ऐतिहासिकलाई प्रचार–प्रसार गर्न र जिल्लाको पर्यटन प्रवद्धन गर्ने लक्ष्य अनुरुप प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

भूमे गाउँपालिकाको आयोजनामा हुने म्याराथन प्रतियोगिताको दर्ता शुल् शुल्क ५०० रूपैयाँ राखिएको छ । प्रतियोगितामा सहभागी हुन दर्ता खुल्ला गरिएको छ र अन्तिम दर्ता गर्ने मिति असार १ गते साँझ ६ बजेसम्म रहेको छ । प्रतियोगिता असार २ गते बिहान ७ बजे सुरु हुने छ ।