रुकुम पूर्वः पुथाउत्तरगंगा गाउँपालिकाले “भूम्या” पर्वको अवसरमा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँकार्यपालिकाको जेठ ३० र ३१ गते तकसेरामा बसेको बैठकले गाउँपालिकामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत समिर गिरीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार “भूम्या”  पर्वको अवसरमा गाउँपालिकाले असार १ र २ गते सार्वजनिक विदा दिने भएको छ । भूम्या पूजाका दिन फूल टिप्ने तथा गाउँ टोल अनुसार फरक फरक दिनमा पूजा गर्ने चलन छ । प्रमुख प्रशासकीय अधिकृत गिरीले भन्नुभयो “भूम्या” पर्वलाई भव्य बनाउन कार्यपालिका बैठकले दुई दिन विदा दिने निर्णय गरेको ।

सार्वजनिक विदाका दिन गाउँपालिकाभर रहेका शिक्षण संस्था र सरकारी कार्यालय बन्द रहने छन । भूमिको पुजा गरे  विभिन्न प्राकृतिक विपत्तिबाट बच्ने जनविश्वास  छ । सोही विश्वासका आधारमा  पूजा गरि मनाइने यो पर्व रुकुम पूर्वका मगर समुदायको ठुलो पर्व हो । यसै पर्वलाई विशेष बनाउन लुम्बिनी प्रदेश सरकारले पनि रुकुम पूर्व र रोल्पामा असार १ गते सार्वजनिक विदा दिदै आएको छ ।