रुकुम(पूर्व) को सिस्ने गाउँपालिकामा रहेको अल्पकालिन सुरक्षित आवास गृह(सेफ हाउस) बाट सेवा लिने हिंसा पिडितको संख्या लगभग साढे ३ सय पुगेको छ । सिस्ने गाउँपालिकामा वार्षिक समिक्षा कार्यक्रम गर्दै सञ्चालनमा आएदेखि हालसम्म सेफ हाउसबाट ३ सय ४४ जना हिंसा पिडितले सेवा लिएको जानकारी गराइएको छ ।

वार्षिक समिक्षा कार्यक्रममा वार्षिक गतिविधि प्रस्तुत गर्ने क्रममा मनोविमर्शकर्ता सुगन्धा मल्लले चालु आर्थिक वर्षमा मात्र ५२ जना हिंसा पिडित महिलाले सेवा लिएको जानकारी गराउनुभयो । उहाँकाअनुसार शारिरिक हिंसाका १२ जना, मानसिक हिंसाका ८ जना, जबरजस्ति करणीका ३ जना, सम्बन्ध विच्छेदका ५ जना, स्रोत साधनबाट बन्चितका २० जना र हन्य ४ जना हिंसा पिडितले सेवा लिएका छन् ।

जसमा १९ वर्ष भन्दा कम उमेर समुहका ३ जना, ४९ वर्ष भन्दा कम उमेर समुहका ४५ जना र ५० वर्ष भन्दा माथी उमेर समुहका ३ जना रहेका छन् । यसमा पनि सिस्ने गाउँपलिकाका ३१ जना, भूमे गाउँपालिकाका १० जना, पुथा उत्तरगंगा गाउँपालिकाका ८ जना, रुकुम(पश्चिम), भोजपुर र बर्दियाका एक एक जनाले सेफ हाउसबाट चालु आर्थिक वर्षमा सेवा लिएको मनोविमर्शकर्ता मल्लले बताउनुभयो । उहाँकाअनुसार सेफ हाउसबाट ६ जनालाई न्यायिक समिति,, २ जनालाई वडामा, ९ जनालाई ओसीएमसी, १२ जनालाई जिल्ला प्रहरी कार्यालय र ३ जनालाई अदालतमा सिफारिस गरिएको छ ।

मनोपरामर्शमात्र नभई २१ जनालाई आवास, २६ जनालाई मर्यादा सामाग्री र ३ जनालाई आयआर्जनको लागि सहयोग पनि गरिएको छ । २०७६ साल फागुन महिनामा निर्माण भई २०७७ जेठ ६ गतेबाट सञ्चालनमा आएको सेफ हाउस सिस्ने गाउँपालिकाले सिद्धार्थ सामाजिक विकास केन्द्र र यूएनएफपिएको सहयोगमा सञ्चालन गरिरहेको छ । सेफ हाउसबाट जिल्लाभरीकै हिंसा पिडित महिला तथा बालबालिकाले सेवा लिदै आएपनि यसमा पुथा उत्तरगंगा गाउँपालिका र भूमे गाउँपालिकाले सहयोग गर्न सकिरहेका छैनन् ।

समिक्षा कार्यक्रममा उपस्थितहरुले तीन वटै पालिकाको संयुक्त योजना र लगानीमा अगाडी बढ्न सके सेफ हाउस सञ्चालनमा थप सहजता आउने बताउदै त्यसैअनुसार अगाडी बढ्न सुझाव दिएका छन् ।

सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माधवप्रसाद घिमिरेको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी नायव उपरिक्षक अन्जना श्रेष्ठ, पूर्व गाउँपालिका अध्यक्ष कुमारी बराल, गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, प्रमुख प्रशासकिय अधिकृत विकास विक्रम शाह, रुकुम(पूर्व) अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट जितेन्द्रसिंह कोइराला लगाएतको आतीथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन सहायक महिला विकास निरिक्षक सुनिता खड्काले गर्नुभएको थियो ।