रुकुम पूर्वः सिस्ने गाउँपालिकाले पालिका क्षेत्रभित्रका १७ सामुदायिक विद्यालयलाई खाजा पकाउने भाँडा वितरण गरेको छ । पालिकाले तिन वडाका १७ विद्यालयलाई खाजा पकाउने सामग्री हस्तान्तरण गरेको हो । गाउँपालिका अधयक्ष कृष्ण रेग्मी र उपाध्यक्ष गोपाल रेउलेले एक कार्यक्रमका बीच विहिबार विद्यालयका शिक्षकलाई खाजा बनाउन आवश्यक पर्ने सामग्रीहरु हस्तान्तरण गर्नुभएको छ ।

विद्यालयलाई खाजा पकाउन आवश्यक पर्ने कडै, डेक्ची, डाडु र पनिउँ हस्तान्तरण गरिएको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मंगलसिंह बुढाले जानकारी दिनुभयो ।  सरकारले सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउन र गुणस्तर बढाउन कक्षा पाँचसम्म अध्ययनरत बालबालिकाका लागि दिवा खाजा कार्यक्रम लागू गरेको छ ।

संघीय विशेष अनुदानबाट विद्यालयहरुलाई खाजा पकाउन आवश्यक सामग्री उपलब्ध गराइएको हो । सरकारले विद्यालयमा दिवा खाजा कार्यक्रम लागू गरेपछि प्रायः विद्यालयलाई खाजा पकाउन समस्या हुदैँ आएको थियो । उक्त समस्या समाधान गर्न पालिकाले खाजा पकाउने सामग्री वितरण गरेको गाउँपालिका अध्यक्ष रेग्मीले बताउनुभयो ।

गत वर्ष ३, ७ र ८ नम्बर वडाका ९ विद्यालयलाई खाजाका सामाग्री वितरण गरिएको थियो । पालिकाभित्रका सवै विद्यालयलाई खाजाका सामग्री उपलब्ध गराउने गाउँपालिकाको लक्ष्य छ । अव २ र ४ नम्बर वडाका १४ सामुदायिक विद्यालयलाई आगामि वर्षमा सामग्री वितरण गरिने सिस्ने गाउँपालिकाले जनाएको छ ।

यस्तै गाउँपालिकाभरका ९ सामुदायिक विद्यालयलाई प्याड डिस्पोजल मेसिन पनि हस्तान्तरण गरिएको शिक्षा शाखा प्रमुख बुढाले जानकारी दिनुभयो । प्रयोग गरिएका प्याड जथाभावि फाल्दा वातावरण विग्रने र शौचालय फोहोर हुने समस्यालाई ध्यानमा राखि गाउँपालिकाले प्याड डिस्पोजल मेसिन वितरण गरिएको हो ।