रुकुम पूर्वः सिस्ने गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८०।८१ का लागि ५० करोड बढि बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले आइतबार १३ औ गाउँसभामा आगामि वर्षका लागि ५० करोड ४० लाख ८० हजार ३ सय ८५ रुपैयाँ बराबरको बजट पेस गर्नुभएको हो ।
कुल बजेटको चालु तर्फ ३८ करोड २४ लाख ३२ हजार ४ सय ९८ र पुँजीगतर्फ १२ करोड १६ लाख ४७ हजार ८ सय ८७ रुपैँया बिनियोजन गरिएको छ । कुल बजेटको ७६ प्रतिशत चालु र २४ प्रतिशत पुँजीगत खर्चका लागि छुट्याएको उपाध्यक्ष रेउलेले घोषणा गर्नुभयो ।
बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, कृषि, सरसफाई तथा खानेपानि र पर्यटनलाई विशेष प्राथमिकता दिइएको छ । शिक्षा तर्फ १४ करोड ६९ लाख, स्वास्थ्य क्षेत्रमा गुणस्तरीयता कायम गर्न ५ करोड ४३ लाख ७८ हजार र भवन तथा सहरी विकासका लागि ३ करोड १९ लाख बजेट विनियोजनको गरिएको छ ।
परम्परागत कृषि प्रणालीलाई व्यवसायिक एवम् प्रतिस्पर्धात्मक कृषि प्रणालीमा रुपान्तरण गरि दिगो विकासको माध्यमबाट नागरिकको जीवनस्तरमा सुधार ल्याउन कृषि उत्पादनमा अनुदानलाई जोड दिदै कृषिमा २ करोड ३८ लाख ६४ हजार बजेट विनियोजन गरिएको छ । स्थानीय सडक तथा पुल निर्माणका लागि १ करोड ८२ लाख ५० हजार रुपैया बजेट विनियोजन गर्दा सरसफाइ तथा खानेपानी व्यवस्थापन गर्न १ करोड ५२ लाख ७५ हजार र पर्यटन प्रर्वद्धनका लागि १ करोड १० लाख बजेट बिनियोजन गरिएको छ ।
यस्तै पशुपन्छि विकासका लागि ६३ लाख ६४ हजार, लैङ्गिक समानता र सामाजिक समावेशिकरण लागि ५८ लाख ९५ हजार, विपद् व्यवस्थापन गर्न ४१ लाख, खेलकूद क्षेत्रको प्रवर्द्धन र विकासका लागि २६ लाख, सहकारी संस्थाहरुको स्तरोउन्नती र प्रर्वद्धन गर्न १४ लाख र स्थानीय संचार माध्यमहरुलाई प्रभाबकारी बनाउन २१ लाख बजेट बिनियोजन गरिएको उपाध्यक्ष रेउलेले सुनाउनुभयो ।
गाउँपालिकाले नगर प्रहरी सन्चालनका लागि १५ लाख बजेट बिनियोजन गरेको छ । यस्तै संस्थागत विकास सुशासन तथा सेवा प्रवाहका लागि १४ करोड बढि बजेट विनियोजन गरिएको छ ।
आइतबार बसेको १३ औ गाउँसभाबाट आगामि आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले गएको ५ गते १३ औ गाउँसभाको पहिलो बैठकमा आगामि आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो ।