रुकुमकोट: लुम्बिनी प्रदेश सरकारले दुई मन्त्रालयको नाम परिवर्तन गरेको छ । बुधवार बसेको मन्त्रीपरिषदको बैठकले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको नाम परिवर्तन गरेर गृह मन्त्रालय बनाउने निर्णय गरेको हो ।

त्यस्तै आर्थिक मामिला मन्त्रालयको नाम परिवर्तन गरेर अर्थ मन्त्रालय बनाउने निर्णय भएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिनुभयो ।

मन्त्रीपरिषद बैठकले करार कर्मचारी व्यवस्थापन कार्यविधि २०८० को पहिलो संसोधन गर्ने पनि निर्णय गरेको छ । त्यस्तै लुम्बिनी प्रदेशको स्वामित्वमा रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई २०० बेडको अस्पताल बनाउने गरि कर्मचारी व्यवस्थापन (ओएनएम) को स्वीकृति प्रदान गर्ने निर्णय गरेको मन्त्री पाण्डेले जानकारी दिनुभयो ।

प्रदेश सरकार अन्तरगतका निर्देशनालयको व्यवस्थापनको लागि निर्देशनालयको कार्यक्षेत्र, भूमिका, सेवाको प्रभावकारीता र आवश्यकताको अध्ययनगरि प्रभावकारी कार्य सम्पादन र कर्मचारीको वृत्ति विकासको पक्ष समेत विश्लेषण गरि अध्ययन गर्न नेपाल सरकारका पूर्व सचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा समिति गठन गर्ने र त्यो समितिले एक महिना भित्रमा अध्ययन प्रतिवेदन पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पाण्डेले बतानुभयो ।

आर्थिक वर्ष २०७८/७९ को सशर्त अनुदानतर्फको दायित्व भुक्तानीको स्वीकृत गरेको छ । बैठकले केहि दिन अघि दाङको दंगीशरण गाउँपालिकामा चट्याङ लागेर मुत्यु भएका दुई जना र बर्दियामा एक वर्षअघि गोली लागेर ज्यान गुमाएकी विद्यार्थी नविना थारुलाई प्रदेश सरकारको तर्फबाट जनही एक ∕एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय समेत गरेको छ ।