रुकुम(पूर्व) मा रोपाइँ गरेरै धुमधामका साथ २० औँ राष्ट्रिय धान दिवस मनाइएको छ । यस वर्ष जिल्लाको भूमे गाउँपालिका–३ सीमा खेतमा रोपाइँ गरेर धुमधामका साथ २० औँ राष्ट्रिय धान दिवस मनाइएको हो । ‘जलवायु अनुकुलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा बृद्धि’ भन्ने मुल नाराका साथ यस वर्षको धान दिवस मनाइएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठ, भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठ, उपाध्यक्ष सविना बुढा, प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा, भूमे–३ का वडाध्यक्ष प्रशुराम बुढा, एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेत लगायत कृषि कार्यालयका कर्मचारी, किसानले शुक्रबार आज बिहान सीमा खेतमै पुगि रोपाइँ गरेर धुमधामका साथ धान दिवस मनाइएको छ । भूमे गाउँपालिका कृषि शाखाको आयोजनामा सीमा खेतमा धान दिवस मनाइएको हो ।

जनप्रतिनिधि, कर्मचारी तथा किसानको सामुहिक सहभागितामा धान रोपाइँ भएको थियो । रोपाइँ सकेर आयोजकले सबैलाई आँप, केरा फलफूल र दही, चिउरा समेतका परिकार एकैसाथ बसालेर खुवाइएकोे थियो । धान उत्पादनबाट आम्दानी नहुने देखिएपछि यहाँका किसान तरकारी, मकै खेतीतर्फ आकर्षित हुँदै गएका छन् । किसानलाई धान खेतीतर्फ आकर्षित गराउन यसरी रोपाइँ कार्यक्रमको आयोजना गर्नु परेको कृषि शाखाका नाप्रास शिखर विश्वकर्माले बताउनुभयो ।

यस जिल्लाको मुख्य कृषि उत्पादन मकै, गहुँ, जौ, आलु रहेको छ । पुथाउत्तरगङ्गा गाउँपालिका र भूमे गाउँपालिकामा एक÷दुई ठाउँमा मात्र कृषकले धान लगाउने गरेका छन् भने यी दुई गाउँपालिका मध्ये सिस्ने गाउँपालिकामा केही बढी ठाउँमा धान लगाउने गरेका छन् ।

हाल रुकुम(पूर्व) को १४१९.४२ हेक्टर क्षेत्रफल जमिनमा धान रोपाइ हुँदै आएको एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका कार्यालय प्रमुख पिताम्बर बस्नेतले जानकारी दिनुभयो । उहाँकाअनुसार यस वर्ष ११४० हेक्टर क्षेत्रफलमा अर्थात ८० प्रतिशत धान रोपाई सम्पन्न भएको छ ।