रुकुम(पूर्व) मा किसानलाई व्यवसायमुखी बनाउन बाख्रा पालन सम्बन्धि तालिम प्रदान गरिएको छ । जिल्लाको तीन वटै गाउँपालिकाको विभिन्न ठाउँमा बाख्रा पालन गरिरहेका किसानहरुलाई छनोट गरि एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालय रुकुम(पूर्व) ले तालिम प्रदान गरेको हो ।
कार्यालयले तीन वटै गाउँपालिकाबाट छनोट गरेर २४ जना किसानलाई तालिम प्रदान गरेको हो । प्राङ्गारिक जिल्ला रुकुम(पूर्व) मा पशुपालन धेरै हुने गरेको छ । किसानहरुले परम्परागत शैलिमै पशुपालन गर्दै आएका छन् । यसले गर्दा उनिहरुले बाख्रापालनबाट त्यती राम्रो लाभ लिन सकिरहेका छैनन् । यस्तो अवस्थामा तीनै किसानहरुलाई व्यवसायमुखी बनाउनको लागि कार्यालयले तालिमको आयोजना गरेको एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका प्रमख पिताम्बर बस्नेतले जानकारी दिनुभयो ।
उहाँकाअनुसार तीन दिनसम्म चलेको तालिममा सहभागिहरुलाई बाख्राका उन्नत जातहरु, खोर व्यवस्थापन, बाख्रामा लाग्ने रोगहरु, रोगको उपचार, घाँस खेती, खसी, बोका, बाख्रा, मासुको बजारीकरण, पशु बिमासम्बन्धि लगाएतको कुराहरु सिकाइएको छ । सहभागिहरुले पनि उत्साहका साथ तालिममा सहभागिता जनाएका थिए ।
तालिममा सहभागि बलिराम झाक्रिले अनुभव सुनाउदै तालिम फलदायी रहेको बताउनुभयो । अब बाख्रा पालनलाई कसरी व्यवस्थित गराउने र यसको लागी केके कुराहरु आवश्यक पर्ने रहेछ भन्ने कुरामा हाफु जानकार भएको र त्यसैअनुसार काम गर्ने बताउनुभयो । यस्तै अनय सहभागिहरुले पनि तालिम प्रभावकारी रहेको प्रतिक्रिया जनाएका थिए ।
तिन दिनसम्म चलेको तालिमको सहजिकरण पशु चिकित्सक विजेता थापा, अधिकृत छैठौ छविलाल घर्ती, पशु प्राविधिक पुष्पप्रसाद शर्मा र बिमाको शरदमंगल ओलीले गर्नुभएको थियो ।
तालिम समापन कार्यक्रममा बोल्दै जिल्ला समनवय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले सहभागीहरुलाई तालिममा सिकेको कुराहरु व्यवहारमा उतार्न आग्रह गर्नुभएको छ । अहिले एउटै मानिसले थोरै बाख्रा, थोरै गाई, भैसी, कुखुरा मिश्रीत रुपमा पाल्ने गरेको बताउदै समन्वय प्रमुख श्रेष्ठले यसबाट मानिसहरुले लाभ लिन नसकेको बताउनुभयो । अब तालिमबाट सिकेको कुरालाई अबलम्बन गर्दै बाख्रा पालन व्यवसायलाई अगाडि बढाउन र त्यसबाट लाभ लिन किसानलाई उहाँले आग्रह गर्नुभएको छ ।
एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला सहकारी संघ रुकुकम(पूर्व) का अध्यक्ष बसन्तप्रकाश श्रेष्ठ लगाएत किसानको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन अधिकृत छैठौ छविलाल घर्तीले गर्नुभएको थियो ।