नारायण ओली
हटारु शब्द आफैमा एउटा बिगत र ईमान्दारीता हो। एउटा परम्परा हो । जहाबाट मानव अस्तित्वको सुरुवात भयो त्यहिबाट यो परम्परा चलेको हो । यसलाई परम्परा भन्दा पनि एउटा बिकासको रुपमा लिन सकिन्छ । जतिखेर मान्छेले ढुङ्गे युगलाई पछि पार्दै केहि विकसित युगको यात्रा तय गरेको थियो। त्यतिखेर मान्छेले आफ्ना साथी, पारिवार, समाज, समुदाय र राष्ट्र बनाईसकेको थियो । परिवारका लागि आवश्यक पर्ने लत्ताकपडा, जुत्ता, चप्पल, थौरै मिठा परिकार जो खाएर चाडपर्वमा रमाउने खालका सामान, विषेश त नुन ल्याउनकै लागि पनि गाउँघरबाट हटारु जाने चलन थियो ।
त्यतिबेला गाउँ ठाउँमा हाटबजारको बिकास भएको थिएन । बर्षभरि नुन खानकै लागि भए पनि लामो समय हिडेर हटारु जाने चलन थियो । अहिले आफ्नो परिवार छोडेर मुग्लानको यात्रा गरेझै त्यतिखेर हाटबजार जान महिनौं हिड्न पर्थ्यो । त्यतिबेला अहिलेका जस्ता जुत्ता चप्पल हुदैन थिए । हिउदको चिसो बाटो,तुसारोले भरिएका खोल्साहरु,त्यसैमा खाली पाउले टेकेर गरेका यात्राहरु,पिठ्युँमा खाना ओरान ओछ्यानको भारि,पाए सम्म ओडार नत्र खुल्ला आकाशको बास,बिहान उठ्दा शरिरमा तुसारोले पुरै ढाकेको हुन्थ्यो । कहिले त विहान उढ्दाखेरी हिउले सेताम्यँ पारेको हुन्थ्यो । जहा रात पर्थ्यो,त्यहाँ बाँस हुन्थ्यो । मान्छेको कुनै डर हुदैन थियो । भुतप्रेतसंग भने अलि चनाखो भएर बस्नुपर्थ्यो । जंगली जनारहरु त्यति डर हुदैनथ्यो । हाम्रा पुस्ताले सिकाएको पाठ सिक्दै आज हामी नयाँ दुनियाँमा आएका छौ ।
हटारु कहिले जन्थ्ये ?
पहिले हटारु भनिन्थ्यो। अहिले यात्री भनिन्छ । हाट अहिलेको बजार पुग्न २ महिना पैदल यात्रा गर्नुपर्थ्यो । रुकुम पूर्वी भागमा बसोबास गर्ने मान्छेहरुको हाट कोइलावास हो । रुकुम रोल्पा, सल्यान र छिमेकी जिल्लाबाट किनमेल गर्न कोइलावास जानुपर्थ्यो । हटारु शब्द सुन्दा जति रमाइलो छ हाट जाँदा त्यति नै कठिन छ । गाउँघरमा वर्षे वाली भित्र्याएपछि हाटको यात्रा तय गरिन्छ । जहाँ हिउदको समयमा जाने गरिन्छ। जहा सबै कामहरु सकिएका हुन्छन् । ठूलाठूला चाडपर्व पनि सकिसकेका हुन्छन । हाट जानका लागि यो समय बढि उपयुक्त र महत्त्वपूर्ण मानिने भएको हुनाले छनोट गरिएको हो । वर्षा याम जस्तो हिउँद याममा वर्षाद हुदैन । वर्षामा बढेका खहरे खोलाहरु पनि सुक्न लागिसकेका हुन्छन । त्यतिबेला अहिलेका जस्ता होटेल, लज, चिया पसल, खाजा पसल हुदैन थिए । त्यतिखेर हटा जादाँ आफैले घरबाट बोकेका खानेकुरा पकाएर खानुपर्थ्यो ।
हिउँदमा सुकेका दाउराहरु बटुलेर सजिलै खाना पकाउन सकिन्छ । यो मौसम सबै काम गर्नका लागि उपयुक्त हुने हुदा हटारुहरुले हाट जानका लागि यहि समय छानेको हुन सक्छन । गाउघरमा विभिन्न कर्महरु गरेर, केही सम्पतीहरु बचेर जाम्मा गरेका मोहर लिएर हाट जान्थ्ये । परिवारलाई वर्ष भरि पुग्ने लत्ताकपडा, नुन,गुड ल्याउने गरिन्थ्यो । हाट जानुको सबैभन्दा ठूलो उद्देश्य त नुन ल्याउनु नै हो । हिउदको समय पनि सह्रै राम्रो जताततै देखिने, चारैतिर हेेर्दै,साथीहरु संग जिस्कदै हिड्दा रमाइलो पनि हुन्थ्यो । यसरी हिड्दा बाटो कटेको पत्तै हुदैन थियो । शरीर पनि कसिलो र फूर्तिलो हुने हुदा भारी बोक्न पनि सजिलो हुन्थ्यो ।
कसरी जान्थ्ये त हटारु ?
त्यतिखेर हाट जाने भनेपछि जो कहि पनि उत्साहित हुने गर्दथ्ये । रमाइलो पनि विछट्टै हुने, नयाँ नयाँ मान्छे संग भेट हुने, बजार घुम्ने, गुड खाने, नयाँ कपडा किनमेल गर्ने कसलाई पो रमाइलो हुदैन थियो होला । घरबाट तैयार हुदा देखिनै के के नै सपनाहरु बुनिन थालिसका हुन्थ्ये । ठूलो जत्थामा हिड्दा खुब रमाइलो हुन्थ्यो । २ महिनासम्म खान पुग्ने रासन बोकेर नुन ल्याउन गएको कुरा सुन्दा किंवदन्ती सुने जस्तो लाग्छ । एउटा टोली प्रमुख संग २०/३० जनाको जत्था हुन्थ्यो । घरबाट निस्के देखि बाटोमा धेरै ठाउँका खुल्ला आकाशमा बाँस बस्दै, हिउँदको चिसो सिरेटोसंग साथ गर्दै, हजारौ डाडाकाडा, पाखापखेरा, खोलानालासंग माया पृत लगाउदै, मित्रता गास्दै हिड्नु पर्थ्यो । घरबाट बोकेका खानेकुराहरु बाटोमा छोड्दै जानुपर्थ्यो । हाटबाट फर्किदा खान सजिलो हुन्थ्यो । कतै घरमा राखिन्थ्यो त कतै पहरोमा, यसरी बोकेको खानेकुरा बाटो भरि राख्दै जानुपर्थ्यो । सबै हटारुले बाटाभरी यसरी नै खाने कुरा राख्ने गर्थें । त्यसैले खानेकुरा हराउने,चोरी हुने समस्या हुदैनथ्यो । यसरी हटारुको जत्था मैकोटबाट हिडेपछि दर्जनौ स्थानहरुमा बाँस बस्नुपर्छ।
जस्तो की मैकोट, हुकाम, तकसेरा, लुकुम, कोर्जा, चुन्वाङ, सिस्नेरी, घर्तिगाउँ, दार्बोट, भांगावारी, तिला, हान्जाबाङ, त्रिवेणी, दहवन, तोसपेदा, भैंसे गोगली, मसौट खोला, गढवा, अम्बास र चोरखोलीमा बास बसेपछि मात्र अर्को दिन कोइलाबास पुगिन्थ्यो । कोइलावास पुगेपछि नुन, कपडा, गुड, औषधी लगायतका विभिन्न सामानहरु बनाउन एक साता लाग्ने गर्दथ्यो । उछिट्टेलाई नचाउन एक दिन लाग्थ्यो । कोइलावास पहिलोपटक जानेलाई उतिबेला ‘उछिट्टे’ भन्ने चलन थियो र उसलाई गुडका डल्लाले हानेर स्वागत गर्ने चलन पनि थियो । यो चलन कोइलावासका ब्यापारीहरुले सुरु गरेका हुन । नुन ल्याउने टोलीका प्रमुखले ती ‘उछिट्टे’ लाई बेस्सरी नचाउँने गर्थ्ये ।
दोस्रो दिन देखि सबै हटारुहरुले आफ्नो लागि आवश्यक पर्ने सबै सामान बनाउन लाग्थे । नुनका पोका बनाउन, बाबियो खोज्न र डोरी बनाउन,डोरी भने अगुवाले बनाउथ्ये अरु सबै जनाले सहयोग गर्नुपर्थ्यो । सबै हटारुले आफ्नो आफ्नो सामान राखेर भारे डोको कस्नुपर्थ्यो । भारे डोको कति राम्रो हुने गर्थ्यो । जसमा माथी सबै सामान ढोक्ने गरि जाली राखिन्थ्यो । बोक्नका लागि नाम्लो दायाँ र बायाँ पिठ्युँमा बोक्नका दुईवटा खर्कन्ना हुने गर्थ्ये । भारी बनाएपछि घरबाट बेच्न लगेका चीजबीज बेच्नुपर्थ्यो । बेच्नका लागि जडिबुटी,घ्यू लगेका हुन्थे ।
ती चीजबीज नबेचे मन पर्ने सामान किन्न पाइन्थ्यो । चीजबीज बेच्न,मालुका पात टिप्न,नौला ठाउँ घुम्न र हेर्न साह्रै मन पर्थ्यो। चुइचुई नुनको भारि बोकेर,पसिनाले नुहाउदै कोइलाबासबाट फर्किदै,गुडका डल्ला बाड्दै हिड्नु पर्थ्यो ।जहाँ कि हटारुले कोइलाबास झर्दा बास बस्ने ठाउँ नजिकैका घरमा खर्चका पोका–पन्तुरा झुन्ड्याई उठाउदै फर्किन्थ्ये । नुन ल्याउन कम्तीमा एक दर्जन गाउँका हटारु एकैसाथ जान्थे । त्यसो गर्दा सुरक्षा, सरसहयोग र रमाइलो यात्रा महत्त्वपूर्ण मानिन्थ्यो । प्रत्यक घरमा एक जना बलवान्छान्नु पर्थो । ताकी परिवारको लागि बर्षभरी पुग्ने नुन बोक्न सकोस् । नुन बोकेर महिनौं हिड्न सकोस् । आफू सुरक्षित बनेर हटारुको पनि सुरक्षा गर्न सकोस् । त्यस्तो हटारुलाई छानेर परिवारले हाट पठाउनु पर्थ्यो ।
किन जान्थे हटारु?
गाउँघरमा हाट बजार थिएनन । वर्षभरी खाने नुन, तेल,लत्ताकपडा,गुड,अौषधी,खाद्यान्न लगायतका अति आवश्यक मालमत्ता ल्याउन हाट जुनुपर्थ्यो । वनका जडीबुटी, टिम्मुर,सुटो, घिउ, मह, सिमी भटमासलगायत जिनिस बेच्न पनि कोइलाबास जानुपर्थ्यो । त्यसका अलावा नयाँ साथी बनाउन,घुम्न र सयल खेल्न जाने ठाउँ पनि हो । बुढापाखाहरुले नुन ल्याउन जादाखेरी चिनजान गरेका दौतरीको सम्झना अहिलेसम्म गर्ने गर्छन । ती संगै हिडेका बेसी,कोच,डाडा,पाखापखेर आदि सम्झिन्छन। हाट जादा लगाएको माया पृत सम्झिन्छन । छोट्टेछोट्टीहरु आपसमा भारी साटेर बोक्ने चलन पनि हुन्थ्यो। महिनौ काँधमा भारी बोकेर हिड्दाखेरी पिठ्युँ निलडाम हुन्थ्यो। खुट्टामा बिषाएर घाउ हुन्थ्यो। हटारुले भारी बिसाएपछि साझ सुत्दा पिठ्युँमा शुद्ध तोरीको तेल दलेर सुत्थ्ये ।
यसरी नौ मलहमपट्टी गर्दै हटारुको हाटको यात्रा तय हुन्थ्यो । शिरबाट जिम्मेवारीले थिचेको,पिठ्युँमा भारीले थिचेको, हटारुले जीविकोपार्जन गर्न भए पनि हाट जानै पर्थ्यो । हटारुका लागि हाट जानु,नुनको भारी बोक्नु कुनै रहर थिएन । दुर्गमता र जीविकोपार्जनमा बाध्यता बनेर बसेको थियो । बालबच्चालाई दसैं र तिहारमा एक छाक भात चखाउन र मधौरोलाई लागु खुट्याउन भए पनि दुई मुठ्ठी चामल नुनको भारीमा बोक्नु पर्थ्यो । घर पुग्ने आस खुल्ला आकाशको बाँस टारेर हरटारुलाई केहि पाउनु थिएन । केवल सानो परिवारको लागि दसैंमा एक छाक भात र बर्षभरी नुन हालेको चोटिलो तरकारी खुवाउनु थियोे ।त्यतिखेरका जमानामा करोडौं पर्ने सपनाहरू बुन्नु थिएन।
अरबौका महलमा बस्नु थिएन । यथार्थमा यौटा साधारण, जीवन हासेर बिताउनु थियो । त्यो पनि सिस्नोसंग बुरबुरे आटो खाएर, यीनै मिठा सपनाहरू बोकेर हिडेका हटारु थिए । लक्ष्य त केही थिए नउडेर छुने चन्द्रमा थियो । नगुडेर पुग्ने ठाउँ थियो । त्यही थियो केवल मिठो तरकारी बालबच्चालाई खुवाउने, चोटिलो तरकारी खुवाउने हेतु बोकेर कोईलाबासको हाटसम्म हटारु बनेर जानुपर्ने बाध्यता थियो ।
अझै पनि हिमाली भेगका बिकट क्षेत्रमा बसोवास गर्ने समुदायका मानिसहरु हटारु बनेर हाट जाने प्रचलन तोड्न सकेका छैनन। किनभने त्यहा अझै रेलको बाटो पुग्न सकेको छैन । मोटर देख्ने सपना सपनामै सिमित राखेकाछ । भेडा,च्याग्रा,चौरी,घोडा,खच्चडलाई मालमत्ता बोकाउने साधनको रुपमा प्रयोग गर्छन् ।यीनै जनावरहरु हिमाली भेगका लागि गाडी मोटर बनेका छन । मानव सभ्यताको बिकास संगै हाटहरु नजिक आउदै थिए । दुई महिना हिडेर पुगिने हाट बजारहरु बिस्तारै गाउँ गाउँ सम्म पुग्ने क्रम जारि रह्यो । हामीलाई त कहानी जस्तो लाग्न थाल्यो । हाम्रा पुस्तालाई झन हाटारु र हाटका कुराहरु किंवदन्ती जस्तै लाग्ने छन । दिनहरु महिनामा,महिनाहरु बर्षमा,बर्षहरु दसकमा र दसकहरु शताब्दीमा बदलिदै जान्छन् ।
हाम्रो दिनचर्या बदलिदै जान्छन । नयाँ चिजको बिकास हुँदै जान्छ। पुराना कुराहरु विगत हुँदै इतिहासमा परिनत हुन्छन । जुन कुरा हाम्रा पुस्ताहरुले भोग्न र देख्न पाउदैनन । केवल सुन्न र पढ्न मात्र पाउछन् । यस्ता सुन्दर र लोपोन्मुख सभ्यता,चालचलन,रीतिरिवाज र जीवनशैली कुनै न कुनै माध्यबाट पुस्तौ पुस्ता सम्म जीवित राख्नुपर्छ ।
तस्बीर सौजन्यः शिखर विश्कर्मा
यस लेखका लेखक नारायण ओली भूमे गाउँपालिकाको पशु सेवा शाखामा कार्यरत हुनुहुन्छ ।