रुकुम पूर्वः जिल्लाको सिस्ने गाउँपालिकामा लामो समयदेखि रोकिएको जग्गाको कित्ताकाट खुल्ने भएको छ । यहि २६ गतेदेखि सिस्ने गाउँपालिका भित्र जग्गाको कित्ताकाट खुल्ने भएको हो । मातपोत कार्यालय रुकुमकोटले  शुक्रबार एक सूचना जारी गरि जग्गाको कित्ताकाट खुल्ने जनाएको छ ।

भू–उपयोग नियमावली २०७९ बमोजिम भूउपयोग क्षेत्र वर्गिकरणका आधार र मापदण्ड अनुसार सिस्ने गाउँपालिकाको स्थानीय भू-उपयोग परिषदले भू-बर्गिकरण गरि कित्ताकाट खुलाउने निर्णय भए बमोजिम कित्ताकाट खुलाउन लागिएको मालपोत अधिकृत मोहनलाल केसीले जानकारी दिनुभयो ।

जग्गाको वर्गीकरण गरिएपछि रोकिएको कित्ताकाट खुलाउन मालपोत कार्यालयलाई पत्राचार गरिएको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिनुभएको छ । गाउँपालिकाको पत्राचार अनुसार मालपोत कार्यालयले रोकिएको कित्ता काट खुलाउन लागेको हो ।

सिस्ने गाउँपालिकामा विगत १४ मिहना देखि जग्गाको कित्ताकाट रोकिएको छ । जग्गा कित्ता काट रोकिदा गाउँपालिकामा  जग्गा किनबेचको काम ठप्प छ । जसले गर्दा राजस्वसमेत प्रभावित हुदैँ आएको छ । गाउँपालिकाले पारित गरेको कार्यविधिमा जग्गालाई सहरी, कृषि, औद्योगिक सहितका विभिन्न क्षेत्रमा वर्गीकरण गरिएको छ ।