रुकुम(पूर्व) को सिस्ने गाउँपालिकाले सहजकर्ताको  लागि मेलमिलाप तलिम सञ्चालन गरेको छ । “दिगो शान्तिको लागि उन्नत सम्बन्ध” भन्ने नाराका साथ गाउँपालिकाले प्रत्येक वडाबाट २÷२ जना व्यक्ति छनोट गरि उनिहरुलाई मेलमिलाप सम्बन्धि आधारभूत तालिम प्रदान गर्न लागेको हो । तालिमको आज उद्धघाटन गरिएको छ । आजबाट सुरु भएको तालिम एक हप्तासम्म अर्थात आउदो ३१ गतेसम्म सञ्चालन हुने छ ।

एक हप्तासम्म चल्ने तालिममा न्यायिक समितिलाई मेलमिलापमा सहज हुने गरि सहजकर्तालाई आवश्यक ज्ञान प्रदान गरिने न्यायिक समितिका संयोजक एवम् सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले जानकारी दिनुभयो । उहाँकाअनुसार यस तालिममा सहभागिहरुलाई एक हप्ताको अवधिमा गाउँघरमै मेलमिलाप गर्न÷गराउन सकिने घटना र प्रहरी अदालतसम्म पुग्ने खालका घटनाहरुको बारेमा जानकारी गराइने छ । यसैगरी निष्पक्ष रुपमा मेलमिलापमा सहजकर्ताले खेल्नुपर्ने भूमिका, कानुनी कुराहरुको बारेमा जानकारी गराइने उपाध्यक्ष रेउलेले बताउनुभयो ।

उहाँकाअनुसार तालिमपछि सहजकर्ताको नाम पालिकामा सुचिकृत गरिने छ । त्यसपछि वडामा मेलमिलाप केन्द्रको स्थापना गरिने छ । मेलमिलाप केन्द्रमा आउने हरेक घटनामा सहजकर्ताले घटनाको अवस्था हेरेर मेलमिलापमा भूमिका खेल्नुपर्ने छ । एउटा घटना मेलमिलाप गराएबापत उनिहरुलाई पाँच सय रुपैयाँ प्रदान गरिने उपाध्यक्ष रेउलेले बताउनुभयो ।

तालिम उद्धघाटन कार्यक्रममा बोल्दै सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिले दम्भ र अहंकारको मनोविज्ञानले परिवार, समाजमा घटना निम्त्याउने गरेको बताउनुभयो । यस्तो खालको मनोविज्ञानलाई त्याग्न सके र आनीबनीमा परिवर्तन गर्न सके समाजमा हुने घटनाहरु कम हुने उहाँले बताउनुभयो । “निजी सम्पती, परिवार र राज्यको उत्पती रहिरदासम्म स्वार्थ रहिरहन्छ”, अध्यक्ष रेग्मिले भन्नुभयो, “स्वार्थको व्यवस्थापन गर्न सक्नुपर्दछ ।” वर्ग रहदासम्म द्धोन्द रहन्छ । द्धोन्दसँग मेलमिलाप पनि सँगसँगै जान्छ । जित्नुमा भनदा मिल्नुमा फाइदा हुने उहाँको भनाई छ ।

यस्तै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास विक्रम शाहले गाउघरमा हुने सामान्य घटनामा पनि कानुनी ज्ञानको अभावमा मानिसहरुले दुख पाइरहेको बताउनुभयो । अहिले मेलमिलाप गराउदै आएका कतीपय व्यक्तिहरुले कानुनी ज्ञान अभावको कारण आफ्नो क्षेत्राधिकार भन्दा माथीका घटनाहरुलाई पनि मेलमिलाप गराएर पठाउने गरेको बताउदै अब यस तालिमले त्यस्ता कुरालाई पनि चिर्ने बताउनुभयो । एक हप्तासम्म चल्ने तालिमबाट भरपुर रुपमा आवश्यक ज्ञान लिई मेलमिलापमा सहजकर्ताको भूमिका निभाउन उहाँले सहभागिहरुलाई आग्रह गर्नुभएको छ ।

तालिमको सहजिकरण किरण गौतम र यमज्योतीले गर्नुहुने छ । प्राकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालको सहजिकरण, ग्रामीन युवा सरोकार केन्द्रको व्यवस्थापन र सिस्ने गाउँपालिकाको आयोजनामा तालिम सञ्चालन गरिएको छ ।

सिस्ने गाउँपालिका उपाध्यक्ष एवम् न्यायिक समितिका संयोजक गोपाल रेउलेको अध्यक्षतामा भएको कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रममा सिस्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास विक्रम शाह, न्यायिक समिति सदस्य एवम् कार्यपालिका सदस्य मिना केसी लगाएतको आतीथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन मदन विसीले गर्नुभएको थियो ।