
रुकुमकोट: सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन एमभी कलसाइन रहेको हेलिकप्टर लिखुपिके गाउँपालिका-५को लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको जानकारी दिनुभयो । बेनी प्रहरी चौकीबाट असईसहित २ जना दुर्घटनास्थल पुगिसकेको र जिल्लाबाट थप प्रहरी पठाइएको उहाँले बतानुभयो । उहाले भन्नुभयो, ‘जिल्लाबाट १२ जना नेपाल प्रहरी र ९ जना नेपाली सेनालाई पठाइएको छ ।
दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको छ । एक जनाको पनि शवका टुक्रा भेटिएको भन्ने छ तर पुष्टि भइसकेको छैन,’ प्रमुख जिल्ला अधिकारी भट्टराईले थप्नुभयो ।
दुर्घटनास्थलनजिकै रहेका सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर २ का अध्यक्ष ङवाङ ठिले शेर्पाले दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको मुलुकपाटीलाई जानकारी दिनुभयो । तर उनीहरूको पहिचान भइसकेको छैन ।’ एक जना भने बेपत्ता रहेका छन ।
मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ मेक्सिकन यात्रु लिएर काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर २ र लिखुपिके गाउँपालिका-५ को सीमा लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।