रुकुम(पूर्व) को भूमे गाउँपालिका वडा नम्बर २ सैपातुङमा भागों तथा ओखरको तेल मिल संचालनमा आएको छ । ओखर र भागाें प्रशस्त मात्रामा पाइने भूमे गाउँपालिकाको विभिन्न क्षेत्रलाई मध्यनजर गरेर सैपातुङमा भागाें तथा ओखरको तेल मिल संचालनमा ल्याइएको हो । मिलको आज जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले रिवन काटेर उद्धघाटन गर्नुभएको हो ।
डिभिजन वन कार्यालय रुकुम(पूर्व) को ७५ प्रतिशत अनुदान र सैपातुङमा रहेको क्वाल्खा खोला सामुदायिक वन उपभोक्ता समुहको २५ प्रतिशत लगानीमा मिल सञ्चालनमा ल्याइएको हो । जसमा कार्यालयको ५ लाख र समुहको एक लाख ७५ हजार गरी जम्मा ६ लाख ७५ हजारको लगानीमा मिल सञ्चालनमा ल्याइएको हो ।
सैपातुङमा एक तलाको घर निर्माण गरिएको छ । त्यसमा दुई वटा मेसीन राखिएको डिभिजनल वन अधिकृत जितेन्द्रसिंह खडकाले जानकारी दिनुभयो । उहाँकाअनुसार एउटा ठुलो फिक्स मेसिन छ । एउटा सानो मेसिन छ । ठुलो मेसिनमा भागों र ओखरको घार्जी मिलमै लिएर मेसिनले पेल्न सक्नेछन भने सानो खालको मिललाई आवश्यकताअनुसार मानिसले घरमा लगेर पनि तेल निकाल्न सक्ने डिभिजनल वन अधिकृत खडकाले बताउनुभयो ।
ओखरको घार्जी र भागोंको तेलको महत्वउत्तिकै रहेको र मध्यपहाडी लोकमार्गको छेउमै रहेको कारण बजारीकरणमा केहि सहजता आउने अपेक्षा गरेको पनि उहाँले बताउनुभयो ।
मिल संचालन, कर्मचारी व्यवस्थापन, मर्मत खर्च व्यवस्थापन लगाएतको विषयमा वन कार्यालयले कार्यविधि बनाउने र त्यसैअनुसार मिल सञ्चालनको काम गरिने डिभिजन वन कार्यालयले जानकारी दिएको छ ।
मिल उद्धघाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठले मिलको जतनसहित सही तरिकाले सदुपयोग गर्न र लाभ लिन समुहलाई आग्रह गर्नुभएको छ । अहिले तेल पेल्नको लागि काठको मिल भने लोप भइसकेको अवस्था छ । भूमेमा नजिकै मिल नहुँदा त्यहाँका मानिसहरु रुकुमकोटमा आउने गरेका थिए । सैपातुङमै मिल सञ्चालनमा आएपछि अब त्यहाँ र त्यस आसपासका नागरिकहरुलाई सहजहुने अपेक्षा गरेको प्रमुख श्रेष्ठले बताउनुभयो ।
सोहि क्रममा डिभिजन वनकार्यालयले कबुलियती वन समुहको लागि आयआर्जन कार्यक्रमअन्तर्गत समुहलाई बंगुरका पाठा पनि वितरण गरेको छ । सैुपातुङमा दुई जना किसानलाई जिल्ला समन्वय समितिका प्रमुख श्रेष्ठले हस्तान्त्रण गर्नुभएको हो । वन कार्यालयले जिल्लाभरीका ७ वटा समुहका ६८ जनालाई एक एक वटा बंगुरका पाठा वितरण गरेको हो ।
मिल उद्धघाटन तथाबंगुरका पाठा वितरण कार्यक्रममा समन्वय समितिका प्रमुख श्रेष्ठसहित डिभिजनल वन अधिकृत जितेन्द्रसिहं खड्का, एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेत, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयनइकाई रुकुम(पूर्व) रोल्पा कार्यालयका प्रमुख मित्रलाल शर्मा, घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत मधुकर डाँगी, यूएमएनका टोली प्रमुख शिव सुवेदी लगाएतको उपस्थिती रहेको थियो ।