बिरस थापा
रुकुमकोटः रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा निर्माण गरिएको पोखरी १ महिना नपुग्दै जिर्ण बनेको छ । गएको आर्थिक वर्षको अन्ततिर एक वडा एक पोखरी कार्यक्रम अन्तर्गत वडाको पाथिहाल्नामा पोखरी निर्माण गरिएको थियो ।
तर निर्माण गरिएको केहि महिनामै पोखरी भत्किएको स्थानीय मानबहादुर बुढाथोकीले बताउनुभयो । पानीका स्रोत नभएको उक्त ठाउँमा वर्षातको समयमा परेको आकाशे पानी संकलन गरि हिँउदको समयमा बस्तुभाउलाई खुवाउन प्रयोग गर्ने उद्देश्य राखि निर्माण गरिएको पोखरी धेरै समय नटिक्ने देखिएको छ ।
गुणस्तरहिन निर्माण सामग्रीको प्रयोगले पोखरी जीर्ण बन्दै गएको स्थानीयले बताएका छन । स्थानीयका अनुसार पोखरीमा लगाइएको वालको विभिन्न ठाउँबाट पानी चुहावट हुने गरेको छ । संकलन भएको पानी यसरी चुहावट हुदाँ क्षणभरमै पोखरी रित्तिने सम्भावना उच्च छ । पोखरी निर्माणका क्रममा कम गुणस्तर भएका सामाग्रीको प्रयोग भएकै कारण अहिले समस्या आएको हो ।
सिमेन्ट बालुवा र गिट्टिको मिश्रण नमिल्दा पोखरी जीर्ण बन्दै गएको स्थानीय बासीको भनाई छ । करिब १ महिना अघि डिभिजन बन कार्यालय रुकुम पुर्वले उक्त पोखरी निर्माण गरेको थियो । उपभोक्ता समिति मार्फत २ लाख ५० हजारको लागतमा पोखरी निर्माण गरिएको हो ।