रुकुम(पूर्व) मा जैविक तथा वनस्पति विषादी उत्पादन सुरु भएको छ । प्राङ्गारिक जिल्ला घोषणापछि यहाँको जैविकतालाई रसायनदेखी टाढै राख्नको लागि रुकुम(पूर्व) मै जैविक तथा वनस्पति विषादी उत्पादनको कार्य सुरु गरिएको हो । जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ३ स्थित तिलपारा भन्ने ठाउँमा जैविक विषादी उत्पादनको कार्य सुरु भएको छ । जैविक तथा वनस्पति विषादी प्रयोगशालाको उद्धघाटन पनि गरिएको छ ।

भूमे गाउँपालिकाको ५ लाख, एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालय रुकुम(पूर्व) को ६ लाख र मारिङ बहुउदेश्यिय सहकारी संस्थाको एक लाख ७ हजार गरी जम्मा १२ लाख ७ हजारको लागतमा प्रयोगशाला निर्माणको काम भएको सहकारीका संचालक समिति अध्यक्ष रामसुर बुढामगरले जानकारी दिनुभयो । उहाँकाअनुसार प्रयोगशालामा विषादी उत्पादनको लागि आवश्यक पर्ने उपकरण भने एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालय रुकुम(पूर्व) ले अनुदानमा उपलब्ध गराएको छ । कार्यालयले लेमिनार एयर फ्लो केविनेट, अटोक्लेभ, फ्रिज, इन्कुवेटर, वाटर डिस्टिलेन्सर च्याम्बर, अन्य सम्बन्धित सामाग्री र प्राविधिक सहयोग गरेको छ ।

अब विषादी उत्पादन र बजारिकरणको काम मारिङ बहुउदेश्यिय सहकारी संस्थाबाटै हुने छ । जिल्लामै उत्पादित कच्चा पदार्थको प्रयोगबाट जैविक विषादी तयार पार्न सकिने र अब प्रयोगशाला नै निर्माण गरेर काम सुरु भएपछि अत्यन्तै खुसी लागेको सहकारीका संचालक समिति अध्यक्ष बुढाले बताउनुभयो । “रुकुम(पूर्व) लाई प्राङ्गारिक जिल्ला घोषणा गरेपनि यहाँको जैविकतालाई बचाइराख्न र किसानको खेतबारीमा रोग किरोको प्रकोप देखिएमा त्यसबाट बच्ने अर्को कुनै विकल्प थिएन्”, अध्यक्ष बुढाले भन्नुभयो, “अब जिल्लामै विषादी उत्पादनको काम सुरु भएकाले यहाँका किसानको खेतबारीमा ताजा जैविक विषादी प्रयोग हुने र यसले यहाँको जैविकता र मानिसको स्वास्थ्यमा कूनै पनि असर गर्दैन् ।” विषादी बिक्रिको मुल्य भने प्रयोगशालामा आवश्यक लागत जनशक्तिको खर्च अनुमान गरेर सहकारीले निर्धारण गर्ने उहाँको भनाई छ ।

अध्यक्ष बुढा थप्नुहुन्छ, “तत्काललाई प्रयोगशालामा विषादी उत्पादनको लागि तालिमप्राप्त भूमे गाउँपालिकाका कृषि शाखा प्रमुख विशाल पुन मगरलाई खटाइएको छ । विषादी उत्पादनको लागि अन्य कर्मचारीलाई पनि तालिममा पठाएर तयार पारिने छ । रुकुम(पूर्व) लाई अर्गानिक जिल्लाको पहिचानमा कायम राख्न र जैविक विषादी उत्पादनमा चुनौती छ । तर यसको प्रयोग, बजारिकण गर्न सकेमा जिल्लासँगसँगै छिमेकी जिल्लाहरुको माग धान्ने गरी पनि उत्पादनलाई बढाउन सहकारीले काम गर्ने छ ।”

यस प्रयोगशालामा राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र खुमलटारबाट ट्राइकोडर्मा नामक ढुसीको शुद्ध कल्चर ल्याएर जैविक विषादी उत्पादन गर्न थालिएको छ । यहाँको कच्चा पदार्थ धानको भूस, गहुँको भूस, गड्यौले मल, गोठे मल, भेलीमा ट्राइकोडर्मा ढुसी राखेर जैविक विषादी उत्पादन गर्न सकिने राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र खुमलटारका प्राविधिक अधिकृत तथा बाली रोग विज्ञ वशिष्ठ आचार्यले जानकारी दिनुभयो । उहाँकाअनुसार धान, गहुँको भुस र भेलीमा ट्राइकोडमा ढुसी राखी एउटा डिब्बामा १० देखी १४ दिनसम्म २५÷२६ डिग्रीको तापक्रममा सुरक्षित राखेपछी जैविक विषादी तयार बन्छ । यसरी तयार बनेको विषादीलाई गोठे मल र गड्यौले मलमा मिसायर १० दिनजती जुटको बोराले छोपेपछि त्यसले मल र रोग व्यवस्थापन दुवैको काम गर्ने गर्दछ । यसरी प्रयोग गर्दा रोग नै उत्पन्न नहुनेगरी विषादीले काम गर्ने उहाँको भनाई छ । झोल विषादी भने भेलीलाई घोलेर बोतलमा राख्ने र त्यसमा ट्राइकोडर्मा ढुसी मिसायर राखेपछि तयार बन्छ । जैविक विषादी रुकुम(पूर्व) जस्तो प्राङ्गारिक जिल्लामा निकै उपयुक्त र प्रभावकारी रहेको बाली रोग विज्ञ आचार्यले बताउनुभयो ।

भूमे गाउँपालिका वडा नम्बर २ का धनराज पुन र श्रीमान बुढा मगरले घर नजिकै जैविक विषादी उत्पादन हुन थालेपछि आफुहरुलाई निकै खुसी लागेको बताउनुभयो । उहाँहरु दुवै जनाले नर्सरी सञ्चालन गरेको बताउदै प्राङ्गारिक जिल्ला भनेर कसैले पनि रसायनिक विषादी प्रयोग गर्न नदिने विरुवा रोग किराको प्रकोपले सखाप हुने अवस्थाको सामना गर्दै आएको सुनाउनुभयो । अलिअलि झोल विषादी घरमा बनाउदै प्रयोग गर्दै गरेपनि झोल विषादी बनाउनै समय धेरै लाग्ने र आफुहरुले भनेजस्तो नभएको बताउनुभयो । अब भने भूमे मै जैविक विषादी उत्पादन सुरु भएपछि आफुहरुलाई मात्र नभई जिल्लाबासी सबैलाई सजिलो भएको उहाँहरुको भनाई छ ।

२०७६ सालमा रुकुम(पूर्व) लाई लुम्बिनी प्रदेश सरकारले प्राङ्गारिक जिल्ला घोषणा गरेको हो । प्राङ्गारिक जिल्ला घोषणापछि यहाँ रासायनिक मल, विषादी पूर्ण रुपमा प्रतिबन्ध छ ।