रुकुमकोट: माध्यमिक शिक्षा परीक्षा कक्षा दश (एसइई)को नतिजाको आलोचना भइरहेको अवस्थामै पास हुने दर बढाउन सरकारले गणितमा पनि २५ नम्बरको आन्तरिक प्रयोगात्मक परीक्षा लिने व्यवस्था गरेको छ।

सरकारी विद्यालयमा विषयगत शिक्षक र गणितको प्रयोगशालाको समेत अभाव भएको अवस्थामा गणितजस्तो विषयमा आन्तरिक मूल्यांकनको अंकले एसइईको नतिजामा माथिलो ग्रेडको संख्या वृद्धि गर्नेबाहेक विद्यार्थीको शिक्षण सिकाइ र क्षमता वृद्धि हुने देखिँदैन।

राष्ट्रिय परीक्षा बोर्डका एसइई परीक्षा नियन्त्रक विष्णु नारायण श्रेष्ठले यसपटकको एसइई परीक्षामा २ लाख बढी विद्यार्थी १.६ जिपिएभन्दा कम समूहमा परेको भन्दै सरकारले गणितलाई थप व्यावहारिक बनाउन २५ नम्बर आन्तरिक मूल्यांकनको व्यवस्था गरेको दाबी गर्नुभयो ।

‘यसपटक एसइईमा डी र ई समूहमा २ लाख बढी विद्यार्थी परेका थिए,’नियन्त्रक श्रेष्ठले भन्नुभयो, ‘गणितबाहेक सबै अनिवार्य विषयमा आन्तरिक मूल्यांकन २५ नम्बर कायम छ। अन्य विषयको नतिजा राम्रो देखियो। विद्यार्थीको जीवनलाई गणितसँग जोड्न हालै कार्यन्वयनमा आएको कक्षा १० को नयाँ पाठ्यक्रमले गणितमा पनि २५ नम्बरको आन्तरिक मूल्यांकनको व्यवस्था गरेको छ।’

सरकारले गणित विषयलाई व्यावहारिक बनाउने उदेश्यले २५ नम्बरको आन्तरिक मूल्यांकनको व्यवस्था गरेको भए पनि विद्यालयका शिक्षकहरूले नैतिकताको आधारमा दिने अवस्था नभएकाले यसको कार्यान्वयन उचित तरिकाले नभए घातक हुने निश्चित छ ।

चालु शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम कार्यान्वयनमा आएसँगै अब विद्यालयले नै गणितमा पनि २५ नम्बरको आन्तरिक परीक्षा लिने व्यवस्था नयाँ पाठ्यक्रमले गरेका छ।

हालै प्रकाशित एसइई नतिजामा कुल ४ लाख ८३ हजार ५ सय ६५ विद्यार्थी सहभागिता जनाएकोमध्ये गणितमा डी र ई आर्थत् ३० भन्दा कम अंक ल्याउने विद्यार्थीको संख्या २ लाख ४ हजार २ सय ६८ रहेको थियो। त्यसमा सबैभन्दा बढी अर्थात् ४२.२४ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएको विषय नै गणित थियो ।