रुकुमकोटः रुकुम (पूर्व) मा मध्यपहाडी लोकमार्ग सडकखण्ड अवरुद्ध भएको छ । जिल्लाको रुकुमकोट–खाबाङ खण्डअन्तर्गत पर्ने भूमे गाउँपालिका वडा नम्बर ४ स्थित काँडा बगरमा ठुलो पहिरो झर्दा शुक्रबार बिहानैदेखी सडकखण्ड अवरुद्ध हुन पुगेको हो ।
लगातारको झरिको कारण सडक भन्दा माथीबाट ठुलो पहिरो झरेको छ । ठुला ठुला ढुङ्गा सडकमा रोकिएका छन । सडक माथिबाट आएको पहिरोले गर्दा सडक अवरुद्ध भएको सशस्त्र प्रहरी बल आश्रीत गुल्म रुकुम(पूर्व) का प्रहरी निरिक्षक सत्यबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
उहाँकाअनुसार बिहानैबाट भूमे गाउँपालिकाको जेसिबिले पहिरो पन्छाइरहेको छ । तर अबरुद्ध सडक खुलाउन सकिएको छैन् । सडकमा झरेको ढुङ्गा हटाउन ब्रेकर बिना सम्भव नरहेको उहाँले बताउनुभयो । ढुङ्गा फुटाउनको लागि निर्माण व्यवसायिसँग समन्वय गरेर ब्रेकर मगाइएको प्रहरी निरीक्षक बुढाथोकीले बताउनुभएको छ । अहिले पनि जेसिबीले पहिरो पन्छाइरहदा माथीबाट पहिरो झर्ने क्रम चलिरहेको छ ।
बिहानैदेखी सडक अवरुद्ध हुँदा एम्बुलेन्स र सवारी साधन अलपत्र परेका छन् । काठमाडौं, पोखरा, दाङ, रोल्पाबाट जिल्ला भित्रिएका र रुकुम(पश्चिम), रुकुमकोटबाट काठमाडौं, पोखरातर्फ जादै गरेका सबै गाडी पहिरोको वारिपारि रोकिएका छन ।
जसका कारण यात्रुहरु समस्यामा परेको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले बताउनुभयो । काठमाडौंबाट आएको एम्बुलेन्समा रहेका बिरामीलाई भने पैदलबाट पहिरो कटाई अटोमार्फत रुकुमकोट ल्याइएको उहाँले बताउनुभयो ।