
रुकुमकोट जिल्ला उद्योग बाणिज्य संघ रुकुम(पूर्व) ले व्यवासायिहरुको लागि आकर्षक कार्यक्रम निशुल्क व्यवसाय बिमा कार्यक्रम ल्याएको छ । उद्योग बाणिज्य संघ रुकुम(पूर्व) ले लामो समय यता व्यवसाय नविकरण नगरेकाहरुलाई लक्षित गरि यो कार्यक्रम ल्याएको हो । वितेको तिन वर्षभन्दा धेरै व्यवसाय नविकरण नगरेर सञ्चालनमा रहेका पसलहरु धेरै मात्रामा रहेको उद्योग बाणिज्य संघ रुकुम(पूर्व) का अध्यक्ष केवेन्द्र गौतमले जानकारी दिनुभयो ।
उनिहरुले व्यवसाय नविकरण गरेमा उद्योग बाणिज्य संघ रुकुम(पूर्व) ले एक लाख बराबरको व्यवसाय बिमा गरिदिने भएको छ । एक वर्षको निशुल्क व्यवसाय बिमा गरेबापतको रकम उद्योग बाणिज्य संघ रुकुम(पूर्व) ले आफै व्यवस्था गरिदिने निर्णय गरेको अध्यक्ष गौतमले बताउनुभयो । उहाँका अनुसार बिमा गरेपछि व्यवसायीको व्यवसायमा विभिन्न कारणले क्षती पुगेको खण्डमा उद्योग बाणिज्य संघले बिमा क्लेम गरिदिने र बिमा कम्पनिले एक लाख बराबरको क्षतिपूर्ती व्यवसायीलाई उपलब्ध गराउने छ । यसले व्यवसायीलाई सहज हुने र नविकरण नगरेकाहरुलाई पनि वयवसाय नविकरण गर्न प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।
त्यसको लागि पहिले व्यवासायिले अनिवार्य रुपमा व्यवसाय नविकरण गर्नुपर्ने छ । नविकरणको लागि उद्योग बाणिज्य संघ र घरेलु तथा साना उद्योग कार्यालय रुकुम(पूर्व) मा दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि, स्थाइ लेखा नम्बरको पमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि आवश्यक पर्ने छ ।
अनलाइनमार्फत पनि व्यवसाय नविकरणको काम गर्न सकिने छ । जिल्लाको विभिन्न ठाउँमा रहेका र झट्टै रुकुमकोटसम्म पुग्न नसक्नेहरुलाई लक्षित गरि अनलाइनमार्फत सहज सेवा प्रदान गर्ने उदेश्यका साथ अनलाइनमार्फत पनि नविकरणको काम गर्न सकिने गरि काम थालनी गरेको बाणिज्य संघका अध्यक्ष गौतमले बताउनुभयो । उहाँकाअनुसार आइएमई, इ सेवा र मोबाइल ब्याङ्किङमार्फत संस्थाको खातामा नविकरणको रकम जम्मा गरिदिए र आवश्यक कागजात इमेल वा ह्वाट्सयपमार्फत उपलब्ध गराएमा पनि उद्योग बाणिज्य संघले व्यवसायिको व्यवसाय बिमा गरिदिने छ ।
व्यवसाय नविकरण गर्ने र व्यवसाय बिमाको काम सुरु भइसकेको छ । यो कार्य असोज मसान्तसम्म चल्ने छ । रुकुम(पूर्व) मा व्यवसाय सञ्चालन गरेर हालसम्म नविकरण नगरेकाहरुलाई समयमै व्यवसाय नविकरण गर्न र एक लाख बराबरको निशुल्क व्यवसाय बिमाको सेवा लिन उद्योग बाणिज्य संघ रुकुम(पूर्व) ले व्यवसायिहरुलाई आग्रह गरेको छ । थप जानकारी लागि संस्थाको नम्बर ९८५७८४७०५३ मा सम्पर्क गर्न सकिने छ ।