
रुकुमकोट: रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ स्थित रुक्मिणी मावि रुकुमकोटले विद्यार्थीलाई बिभिन्न तरकारीका बीऊ वितरण गरेको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउदै कार्यक्रम मार्फत ६८ बिद्यार्थीलाई तरकारीको बीऊ वितरण गरिएको हो ।
सोमबार एक एक प्याकेट काउली, बन्दा, मुला र रायोको बीउ वितरण गरिएको बिद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार कक्षा ९, १०, ११ र १२ मा अध्ययनरत प्राविधिक धारतर्फका बिद्यार्थीहरुले उक्त बीउ पाएका हुन ।
बीउ लगेका बिद्यार्थीहरुले आफ्नै करेसाबारीमा तरकारी उत्पादन गर्नेछन् । उत्पादन गरेको तरकारीको आम्दानी पनि उनीहरुले नै प्राप्त गर्ने प्रधानाध्यापक मल्लले बताउनुभयो ।
शैक्षिक सत्र ०७९/०८० देखि रुक्मिणी माविमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउदै कार्यक्रम सञ्चालन भइरहेको छ ।
बिद्यार्थीको शिक्षालाई सीप र सीपलाई उद्यममा जोड्ने उद्धेश्यले बिद्यार्थीलाई तरकारी बीउ वितरण गरिएको बिद्यालयका कार्यक्रम संयोजक नविन शर्माले जानकारी दिनुभयो । यसअघि बिद्यालयले यसै कार्यक्रम मार्फत २५ जना बिद्यार्थीहरुलाई मौरी गोला सहितका आधुनिक घार वितरण गरेको थियो ।
बिद्यार्थीहरुलाई सैद्धान्तिक मात्र नभई व्यावहारिक ज्ञान आवश्यक पर्ने हुँदा यस कार्यक्रमले व्यवहारिक ज्ञान प्रदान गर्न सहयोग गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश थापाले बताउनुभयो । प्राबिधिक ज्ञानका साथै बिद्यार्थीहरुको पढाई खर्च व्यवस्थापन गर्न यस कार्यक्रम महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ ।
बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष थापाको अध्यक्षतामा भएको तरकारीको बीउ वितरण कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख तिलक गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।