रुकुम(पूर्व) स्थित अवरुद्ध सहिदमार्ग तिन दिनपछि सुचारु भएको छ । वर्षापछि रुकुम(पूर्व) को महत र रोल्पाको थबाङ बिचको विभिन्न ठाउँमा झरेको पहिरोको कारण साउन १३ गतेबाट अबरुद्ध सडक आजबाट सुचारु भएको हो । लगातार वर्षाको कारण भूमे गाउँपालिकाको ७ नम्बर वडा अन्तर्गत उख्लीबाङ र भूर्तीबाङ भन्ने ठाउँमा पहिरो झरेको थियो ।
पहिरोले मान्छे पैदल हिड्ने बाटो समेत थिएन् । सहिदमार्ग, प्रहरी र स्थानीयको सहयोगमा तिन दिनपछि अबरुद्ध सडक खुलाउन सफल भएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का प्रहरी नायव उपरिक्षक अन्जना श्रेष्ठले जानकारी दिनुभयो । वर्षाको कारण मध्यपहाडी लोकमार्ग र सहिदमार्ग सँगै अन्य सहायक मार्गहरुमा पहिरो झरेर समस्या बनाइरहेको छ । पहिरो जानेबित्तिकै समयमा जेसिबी, ब्रेकर नभेटिदा तत्काल पहिरो पन्छाउने कार्यमा समस्या भइरहेको डिएसपी श्रेष्ठले बताउनुभयो ।
उहाँकाअनुसार सहिदमार्गमा पहिरो हटाउनको लागि सहिदमार्ग कै एउटा जेसिबी छ । भूमे गाउँपालिकाको जेसिबी भने काँडाबगरमा झरेको पहिरो पन्छाउने क्रममा बिग्रीएको छ । मध्यपहाडीको भूमे साइडमा पहिरो हटाउन यती विल्डर्सले सहयोग गरिरहेको छ । मध्यपहाडी लोकमार्गको काम गरेको कालिका कन्स्ट्रक्सनले भने कहिले जेसिबि बिग्रेको, कहिले ड्राइभर नभएको भन्दै आएको छ ।
सिस्ने गाउँपालिकाको रुकुमकोट–खोपिचार सडकखण्डमा पनि पहिरो झरिरहेको डिएसपी श्रेष्ठले बताउनुभयो । पुथा उत्तरगंगा गाउँपालिकाको हुकाममा पनि पहिरो झरेर सडक अबरुद्ध हुँदा यात्रुहरुले गाडी परिवर्तन गरेर यात्रा गर्दै आएको उहाँले बताउनुभयो । काँक्रिबाट रिका लेख हुदै क्युबाङ जाने बाटोमा पनि वर्षाको भेलको कारण बाटो चिराचिरा परेर यात्रा गर्न कठिन र जोखिम हुने गरेको छ । कतीपय सहायक मार्गहरु भने पहिरोको कारण अवरुद्ध नै भइसकेका छन् । जसलाई तत्काल खुलाउन सम्भव नभएको स्थानीय तहले बताएका छन् ।
मध्यपहाडी लोकमार्ग अन्तगर्त भूमे गाउँपालिकाको काँडा बगरमा भने एकतर्फी रुपमा आवागमण भइरहेको छ । साउन १२ गते बिहान पाँच बजेतीर झरेको ठुलो पहिरोको कारण आवागमणमा समस्या भइरहेको छ । सडकमा झरेको ठुलो ढुङ्गा फुटाउन सकिएको छैन् । जिल्लामा उपलब्ध ब्रेकरले उक्त ढुङ्गा फुटाउन नसकिएको बताउदै डिएसपी श्रेष्ठले आज रोल्पाको घर्तीगाउँबाट ठुलो ब्रेकर बोलाएको र उक्त ब्रेकरले ढुङ्गा फुटाए आवागमणमा सहज हुने बताउनुभयो । पहिरोको कारण जिल्लास्थित विभिन्न विद्यालयहरुमा पनि क्षती पुगेको प्रहरीले बताएको छ ।