रुकुम(पूर्व) मा पनि डेङ्गु पोजेटिभ देखिएको छ । मोरङ घर भई व्यापारको शिलशिलामा रुकुम(पूर्व) मा पुगेका ५१ वर्षका तिलक बहादुर राईलाई डेङ्गु पोजेटिभ देखाएको रुकुम(पूर्व) अस्पतालले जानकारी दिएको छ ।

राई ४ दिन अघि मात्र काठमाडौंबाट रुकुम(पूर्व) मा आउनुभएको थियो । उहाँ बिरामी भएर चेकजाँचको लागि मंगलबार रुकुम(पूर्व) अस्पताल पुग्नुभएको थियो । डेङ्गुसँग लक्षण मिल्दोजुल्दो देखिएपछि शंकास्पद लागेर परिक्षण गर्दा राईमा डेङ्गु पोजेटिभ देखाएको रुकुम(पूर्व) अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जितेन्द्रराज कोइरालाले जानकारी दिनुभयो ।

उहाँकाअनुसार राईमा ज्वारो आउने र घाटीमा सुन्निएको जस्तो देखिने समस्या देखिएको थियो । अहिले डेङ्गु बढ्दो क्रममा रहेको र यसबाट मानिसको मृत्यु भइरहदा रुकुम(पूर्व) अस्पतालमा आउने बिरामीहरुमध्ये लक्षण शंकास्पद लागेमा उनिहरुमा डेङ्गु छ कि छैन भनेर परिक्षण गर्ने गरेको डाक्टर कोइरालाले बताउनुभयो । सोहि परिक्षणको क्रममा जिल्लामै पहिलो पटक एक जनामा डेङ्गु पोजेटिभ देखिएको उहाँको भनाई छ ।

राई ४ दिन अघि नै रुकुम(पूर्व) मा आएर सिस्ने गाउँपालिका ६ को छिप्रीदह र भूमे गाउँपालिका ३ को क्याङ्सिमा बस्नुभएको थियो । यो अवस्थामा डेङ्गु संक्रमित राईलाई मक्षडले टोकेको हुन सक्ने र उक्त मक्षडले अरु स्वास्थ मानिसलाई टोकेको भए अरु पनि संक्रमित हुन सक्ने आशंका गरिएको छ । अहिले अस्पतालमा किट संख्या न्यून मात्रामा छ । अब एक दुई जना नयाँ संक्रमित थपिने बित्तकै ज्वरो आउने सबैमा डेङ्गु परिक्षण गर्नुपर्ने अवस्था आउने र त्यतिबेला किटको समस्या पर्न सक्ने अस्पतालले जनाएको छ ।

आवश्यक किट उपलब्धताको लागि सरोकारवाला निकायसँग समन्वय तथा पहल गरिरहेको डाक्टर कोइरालाले बताउनुभएको छ ।