रुकुम(पूर्व) मा डेङ्गुको महामारीबाट बच्न जिल्लाव्यापी रुपमा एकै पटक सचेतना अभियान सुरु गरिएको छ । रुकुम (पूर्व) मा डेङ्गुका बिरामी भेटिएपछि यो रोग फैलन सक्ने कुरालाई मध्यनजर गर्दै नागरिकलाई सचेत गराउन जिल्लाव्यापी रुपमा आजबाट सचेतना अभियान एकैसाथ सुरु गरिएको छ । जिल्लास्थित स्वास्थ्य कार्यालय र प्रत्येक वडामा वडाध्यक्षको अगुवाइमा गाउँपालिका, वडापालिका, जिल्ला प्रशासन कार्यालय, उद्योग बाणिज्य संघ, स्वास्थ्य संस्था, यूएमएन, फेयमरमेड, सर्वाङ्गीन विकास केन्द्र, यूएनएफपिए लगाएतको साझेदारीमा जिल्लाको तीन गाउँपालिकाको ३१ वटै वडामा आज बिहान ७ बजेबाट एकैसाथ अभियानको सुरुवात गरिएको हो ।

आजबाट समुदायस्तरमा अभियान सुरु गरिएकोमा २१ गते आइतबारबाट भने सिस्ने र पुथाउत्तरगंगा गाउँपालिकाका सबै विद्यालयमा सचेतना अभियान सञ्चालन गरिने छ । भूमे गाउँपालिका अन्तर्गतका विद्यालयमा भने बर्खे बिदा छ । रुकुम (पूर्व) मा हालसम्म ५१ वर्षका पुरुष र ९ वर्षकी बालिका गरी दुई जनामा डेङ्गु पोजेटिभ देखिइसकेको छ । जिल्लामा खतराको घण्टी बजिसकेको भन्दै सबै सरोकारवाला निकायहरु रोग लाग्नुभन्दा रोग लाग्न नदिनु नै उचित हुने भन्दै समुदायस्तरमा र विद्यालयस्तरमा सचेतना फैलाउन लागि परेका छन् ।

सोहिअनुरुप रुकुम(पूर्व) को जिल्ला सदरमुकाम रहेको ठाउँ रुकुमकोटमा ३ वटा समुह बनाएर अभियानको सुरुवात गरिएको स्वास्थ्य कार्यालय रुकुम(पुर्व) ले जानकारी दिएको छ । आज अभियानको पहिलो दिन सिस्ने ५ को चोकबजार, टाकुरा, बाहुनठाना, कमल दह, सिस्ने ६ को छिप्रीदह, ढकालबारा, कैचिमोड लगाएतको क्षेत्रमा पुगेर नागरिकहरुलाई डेङ्गु रोगसम्बन्धि जानकारी गराइएको स्वास्थ्य कार्यालयका प्रमुख नारायण प्रसाद चौधरीले जानकारी दिनुभयो । उहाँकाअनुसार लामखुट्टेको लार्भा खोज र नष्ट गर भन्ने नाराअनुसार घरघरमा गएर पानी जमेको ठाउँलाई पूर्न लगाइएको छ भने पानी भरेर नछोपी राखेको ठाँउमा पानी पोख्याउने र अबका दिनमा पानी भरेर सधै छोपेर राख्न सल्लाह दिइएको छ ।
यस कार्यमा समुदायका नागरिकहरुलाई पनि शरिक गराइएको छ । साथमा डेङ्गु रोगको परिचय, यसका लक्षण, उपचार पद्धती र सुरक्षित हुने उपाय लगाएतको बारेमा नागरिकलाई सचेत गराइएको छ । यो अभियान जिल्लामा भदौको महिनासम्म निरन्तर चल्ने छ । यस्तै विद्यालयमा विद्यार्थीलाई यसबारेमा जानकारी दिए विद्यार्थी मार्फत उनिहरुका अभिभावकलाई सचेत गराउन सकिने र डेङ्गु संक्रमणको जोखिमलाई कम गर्न सकिने स्वास्थ्य कार्यालयका प्रमुख चौधरीले बताउनुभयो ।

पाँच बेड भएको जिल्ला अस्पताल रुकुम(पूर्व) मा डेङ्गुको महामारी फैलियो भने परिक्षण, उपचारमा समस्या हुने भन्दै रोकथाम र नियन्त्रणलाई बढी जोडबल दिएर सचेतनामुलक अभियानलाई जोड दिइएको छ । डेङ्गु रोग नियन्त्रण अभियानलाई लिएर रुकुम(पूर्व) फेयरमेड फाउण्डेशन र सर्वाङ्गीन विकास केन्द्रले स्वास्थ्य कार्यालयलाई २ सय वटा किट उपलब्ध गराएको सर्वाङ्गीन विकास केन्द्रका कार्यकारी निर्देशक लिलामणी गौतमले बताउनुभयो । साथै यस संस्थाले अभियानका क्रममा ब्यानर, साउण्ड स्टिमको व्यवस्था गरेर सहयोग गरेको छ । यूएमएनले पर्चापम्प्लेट बनाएर सहयोग गरेको छ ।
अभियानमा गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, गैरसरकारी संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिलगाएतको उपस्थिती रहेको थियो ।

