आखा पाक्ने रोग रुकुम(पूर्व) मा पनि फैलिएको छ । सुरुमा भारतसँगको सीमावर्ती क्षेत्रमा देखिएको आँखा पाक्ने रोग तिव्र गतीमा अहिले नेपालको विभिन्न ठाउँमा फैलिरहेको छ । चिकित्सकीय भाषामा आँखाको सेतो भाग सुन्निने र रातो हुने समस्यालाई ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ भनिन्छ ।

अहिले रुकुम(पूर्व) मा सबै भन्दा बढी विद्यार्थीहरुमा यो समस्या देखिएको छ । सुरुमा काठमाडौंबाट आएका केहि स्थानीयमा देखिएको आखाको यो समस्या पछिल्लो समय सबैतीर फैलिदै गएको छ । स्वास्थ्य कार्यालय रुकुम(पूर्व) ले सिस्ने गाउँपालिका ५ मा रहेको रुक्मिणी माविमा स्क्रिनीङ गरेको थियो । जसमा ५० प्रतिशतमा आखा पाक्ने रोगको संक्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख नारायण प्रसाद चौधरीले जानकारी दिनुभयो । यस्तै रुकुमकोट आखा उपचार केन्द्रमा आउने ५० प्रतिशतमा पनि आखा पाक्ने रोगको समस्या देखिएको उपचार केन्द्रका देवराज चौधरीले जानकारी दिनुभयो ।

यो रोगको संक्रममणबाट जोगिन के कसरी सावधानी अपनाउने भनेर सरोकारवालाहरुको उपस्थितीमा जिल्ला प्रशासन कार्यालयमा छलफल गरिएको छ । जहाँ विद्यालयमा सचेतनामुलक कार्यक्रम गर्ने निर्णय गरिएको छ । संक्रमित विद्यार्थीलाई विद्यालयबाट तत्काल घर पठाउने र सुरक्षित भएर बस्न आग्रह गरिने निर्णय गरिएको छ ।

यस्तो संक्रमण हुँदा आँखा गुलाफी वा रातो देखिने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने लगायतका लक्षण देखिन्छ । बिरामीको परेला सुन्निने, आखाँमा केही बिझे जस्तो महसुस हुने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने लगायतका समस्या पनि देखिन सक्छ ।

चिकित्सकका अनुसार संक्रमण सामान्यतः ७ देखि १० दिनसम्म रहन्छ । तर, कसैकसैमा भने जटिल बनेर आँखाको कोर्नियामा समेत असर गर्न सक्छ । त्यसैले संक्रमण देखिनासाथ उपचार प्रक्रियामा जानु आवश्यक हुन्छ ।

यो रोग लाग्दा संक्रमित व्यक्तिको आँखाबाट पानी निस्कने, चिप्रा लाग्ने हुँदा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हात वा अन्य कुनै माध्यमले स्वस्थ व्यक्तिको आँखामा पुग्दा संक्रमण सर्छ । त्यसैले संक्रमित व्यक्ति वा घरबाहिर गएर फर्केका स्वस्थ व्यक्तिले हात नियमित रूपमा साबुनपानीले धुनुपर्ने चिकित्सकको सुझाव छ । यस्तो संक्रमण भएका बेला तौलिया, रुमाल, लुगाफाटो, मेकअपका सामान अरूलाई प्रयोग गर्न दिनुहुँदैन ।