रुकुम(पूर्व) को एक मात्र क्याम्पस सिस्ने शिक्षा क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियू) को कार्यालय उद्धघाटन गरिएको छ । आज एक औपचारिक कार्यक्रमका बिचमा लुम्बिनी प्रदेशसभा सदस्य सुरुल पुनले रिवन काटेर स्ववियू कार्यालयको उद्धघाटन गर्नुभएको हो । स्ववियूलाई अफ्नो कार्य सम्पादन गर्न सहज होस भनेर क्याम्पसको एउटा कोठामा कार्यालय स्थापना गरिएको छ ।

कार्यालय उद्धघाटन गर्दै प्रदेशसभाका सदस्य पुनले विद्यार्थीको हक हित र अधिकारको पक्षमा काम गर्न स्ववियू सधै प्रतिबद्ध रहनुपर्ने बताउनुभयो । विभिन्न ठाउँमा स्ववियूको नाममा क्याम्पसमा राजनीति हुने गरेको बताउदै उहाँले सिस्ने शिक्षा क्याम्पसको स्ववियूले राजनीतिबाट पर रहेर यहाँको क्याम्पस र क्याम्पसका विद्यार्थीको हितको लागि काम गर्नुपर्ने बताउनुभयो । यसै क्रममा क्याम्पसमा देखिएको भौतिक पूर्वाधारको समस्या समाधानको लागि बजेट बिनियोजन गरी आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी माधव प्रशाद शर्माले क्याम्पसमा भइरहेका विभिन्न गतिविधिलाई नियाल्नेदेखी गलत ठाउँमा खबरदारी र सल्लाह सुझाव तथा राम्रा कामलाई बढवा दिने कुरामा स्ववियूको महत्वपूर्ण भूमीका हुने बताउनुभयो । सिर्जनात्मक ढंगले रचनात्मक कार्य गर्दै कार्यकाल सफल बनाउन स्ववियूलाई उहाँले आग्रह गर्नुभएको छ । कार्यक्रममा बोल्दै क्याम्पस संचालक समितिका अध्यक्ष हरिकृष्ण गौतम, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तिलक गौतम, क्याम्पस प्रमुख तिव्र गौतम, नेपाल पत्रकार महासंघ रुकुम(पूर्व) का अध्यक्ष मैत्या घर्ती, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य रेवन खड्का लगाएतले कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

स्ववियू सभापती जयमान बुढा मगरले अहिले पनि स्ववियूले कमल दह सरसफाई, जिल्ला प्रशासन कार्यालयको सहायता कक्षमा सेवा प्रवाह गरेर सहयोग गरिरहेको बताउनुभयो । आगामी दिनमा पनि क्याम्पसमा विभिन्न रचनात्मक कार्य गर्दै जाने प्रतिबद्धता जनाउनुभएको छ ।

सिस्ने शिक्षा क्याम्पसका स्ववियू सभापती बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य सुरुल पुनको प्रमुख र जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठको विशेष आतीथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माधवप्रशाद शर्मा, भूमे गाउँपालिका उपाध्यक्ष सविना बुढा, जिल्ला प्रहरी प्रमुख डिएसपी अन्जना श्रेष्ठ, क्याम्पस संचालक समिति अध्यक्ष हरिकृष्ण गौतम, शिक्षा विकास समन्वय इकाई प्रमुख तिलक गौतम, क्याम्पस प्रमुख तिव्र गौतम लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विभिन्न संघसंगठनका प्रमुख एवम् प्रतिनिधि, पत्रकार, शिक्षक, विद्यार्थीको उपस्थिती रहेको थियो ।