निजामती सेवा दिवस २०८० रुकुम(पूर्व) मा विभिन्न कार्यक्रम गरी मनाइदै छ । भदौ २२ गते पर्ने निजामती सेवा दिवसको अवसर पारेर कर्मचारी मिलन केन्द्र रुकुम(पूर्व) ले आजबाट विविध कार्यक्रमको सुरुआत गरेको छ । दिवस मनाउने क्रममा आज १३ गते मिलन केन्द्रको आफ्नै जग्गामा विभिन्न प्रकारका पूmलहरुको बिरुवा रोपेको छ ।

आज बिहान ८ बजे कमलदह नजिकै रहेको मिलन केन्द्रको जग्गामा वकमवेली, पारिजात, कल्की, महेन्द्र फूल आदीको विरुवाहरु रोपिएको छ । मिलन केन्द्रका प्रमुख संरक्षक एवम् रुकुमकोट जिल्ला अदालतका न्यायधिश श्यामलाल घिमिरे, संरक्षक एवम् प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मासँगै सुरक्षा निकायका प्रमुख, जिल्लास्थित सरकारी कार्यालयका कर्मचारीहरुको उपस्थितीमा फूलका विरुवा रोप्ने कार्य सम्पन्न भएको हो ।

निजामती सेवा दिवस मनाउनको लागि मिलन केन्द्रले केहि दिन अघि बैठक बसेर प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको अध्यक्षतामा मुल समारोह समिति निर्माण गरेको थियो । दिवसको अवसरमा विविध खेलकुद प्रतियोगिताको पनि आयोजना गरिएको छ ।

महिला पुरुष तर्फ डबल ब्याडमिन्टन प्रतियोगिता, घैटो फोड्ने खेल, तातो आलु खेल प्रतियोगिता संचालन गरिने कर्मचारी मिलन केन्द्र रुकुम(पूर्व) का अध्यक्ष पिताम्बर बस्नेतले जानकारी दिनुभयो । उहाँकाअनुसार ब्याडमिन्टन प्रतियोगिता भदौ १६ देखी १९ गतेसम्म दाहाल कभर्डहलमा संचालन हुने छ । घैटो फोड्ने खेल २० गते बिहान ११ बजे र तातो आलु खेल प्रतियोगिता सोहि दिन दिउसो २ बजे जिल्ला प्रहरी कार्यालयको प्राङ्गनमा संचालन गरिने मिलन केन्द्रका अध्यक्ष बस्नेतले बताउनुभयो ।

२१ गते बिहान कमलदह कमलदह परिसरमा सरसफाई तथा डस्टबिन राख्ने कार्यक्रम तय भएको छ । २२ गते प्रभातफेरीसँगै खेलकुद प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरणसँगै उत्कृष्ट कर्मचारीलाई पुरस्कृत तथा सम्मान गर्ने कार्यक्रम रहेको कर्मचारी मिलन केन्द्र रुकुम(पूर्व) ले जानकारी दिएको छ ।