रुकुमकोट: रुकुम पुर्वको सदरमुकाम रुकुमकोटमा लोकसेवा तयारि कक्षाको उदघाटन गरिएको छ । बुधबार सदरमुकाम रुकुमकोट स्थित रुक्मिणी माविको सभा हलमा जिल्ला समन्वय समिति प्रमुख मेघ बहादुर श्रेष्ठले तयारी कक्षाको उदघाटन गर्नु भएको हो ।

सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा रुक्मिणी जय सुपेरिएर मल्टिप्रपोज कम्पनी प्रालीले निशुल्क तयारी कक्षा सन्चालन गर्नेछ । उद्घाटन कार्यक्रममा बोल्दै समन्वय प्रमुख श्रेष्ठले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले लोकसेवा प्रती रुचि भएका तर कमजोर आर्थिक स्थितिका कारण जिल्ला बाहिर पढन जान नसक्ने विद्यार्थीका लागि सिस्ने गाउँपालिकाले सुनौलो अवसरको सिर्जना गरेको बताउनुभयो । आफ्नै जिल्लामा निशुल्क रुपमा पढाई हुने कक्षाकाे फाइदा उठाएर सरकारी सेवामा प्रवेश गर्न श्रेष्ठले विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ ।

जिल्लाका पछिल्लो युवा पुस्तालाई सरकारी सेवामा प्रवेश गराउन गाउँपालिकाले लोकसेवा तयारी कक्षाका लागि बजेटको व्यवस्था गरेको पालिका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो आयोगका परिक्षामा प्रतिस्पर्धा गर्ने जनशक्ति जिल्ला भित्रै उत्पादन गर्न जागरण ल्याउने हाम्रो उदेश्य छ ।

बाहिरबाट आएका कर्मचारी धेरै वर्ष टिक्दैनन । उनिहरुलाई जिल्लाको विकासमा अपनत्व पनि हुँदैन । जिल्लाका प्रायः जसो कार्यालयमा कर्मचारीको अभाव छ । अध्यक्ष रेग्मीले भन्नुभयो हामीलाई चाहिने दक्ष जनशक्ति जिल्लामै उत्पादन गर्न तयारी कक्षा सन्चालनमा जोड दिएका हौँ ।

बिशेष गरि लोकसेवा, शिक्षक सेवा र लाइसेन्स परिक्षाको तयारीको लागि लोकसेवा पढाउन सुरु गरिएको रेग्मीले बताउनुभयो ।           

अध्यक्ष रेग्मीको अध्यक्षतामा सम्पन्न भएको उदघाटन कार्यक्रममा जिल्ला समन्वय प्रमुख श्रेष्ठको प्रमुख र प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माको विशेष आतिथ्यता रहेको थियो ।

तयारी कक्षा रुक्मिणी मावि रुकुमकोटमा साझ ५ बजेदेखि सुरु हुने रुक्मिणी जय सुपेरिएर मल्टिप्रपोज कम्पनी प्रालीका व्यवस्थापक जयकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार लोकसेवा तथा शिक्षक सेवा आयोगले लिएका विभिन्न परिक्षा पास गर्नुभएका दक्ष तथा अनुभवी व्यक्तिले कक्षामा प्रशिक्षण दिनुहुनेछ ।

लोकसेवा पढाउन गाउँपालिकाले सार्वजनिक सूचना जारी गरि फारम संकलन गरेको थियो । सूचना अनुसार ४० बढी विद्यार्थीले पालिकामा निवेदन दिएका थिए । सिस्ने गाउँपालिकाले गत वर्ष पनि लोकसेवा तयारी कक्षा संचालन गरेको थियो ।