नेकपा माओवादी केन्द्र रुकुम पूर्व भूमे गाउँपालिकाको विस्तारित बैठक सम्पन्न भएको छ । बैठकमा पार्टीको तीन महिने अभियान जनतासंग माओवादीः विशेष रुपान्तरण अभियानलाई सफल पार्न विभिन्न १७ वटा एजेण्डामा छलफल भएको थियो । बैठकले अभियानका लागि नेताहरुको कार्यविभाजन गरेको छ । गाउँपालिकाको इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य दलजित शिर्पाली र मेघबहादुर श्रेष्ठलाई तोकिएको छ । त्यस्तै गाउँपालिकाका ९ वटै वडा इन्चार्ज पनि तोकिएको छ ।
वडा नम्बर १ र २ मा प्रदेश सदस्य सुवास पुन, वडा नम्बर ३ मा प्रदेश सचिवालय सदस्य होमप्रकाश श्रेष्ठ, वडा नम्बर ४ र ५ मा प्रदेश समिति सदस्य जिताराम कामी, वडा नम्बर ६ र ७ मा केन्द्रीय सदस्य मेघबहादुर श्रेष्ठ, वडा नम्बर ८ मा प्रदेश सदस्य भिमकुमारी पुन र वडा नम्बर ९ मा प्रदेश सदस्य मनकुमारी बिष्टलाई इन्चार्जको जिम्मेवारी दिइएको छ । बैठकले गाउँपालिकाको वडा नम्बर २ खावाङमा भाद्र २२ गते आम भेला आयोजना गर्ने निर्णय गरेको छ ।
पार्टीका गाउँपालिका अध्यक्ष रुपधन कामीको अध्यक्षतामा बसेको बैठकमा पार्टीका स्थायी कमिटी सदस्य कमला रोकाको प्रमुख आतिथ्यता रहेको थियो । बैठकमा बोल्दै रोकाले पार्टी निर्माणका लागि थालिएको तीन महिने अभियानलाई सबै जनताको विचमा लैजान आग्रह गर्नुभएको छ । यो अभियानले पार्टीलाई नयाँ शिराबाट अघि बढाउने समेत उहाँले बताउनुभयो ।
बैठकमा पार्टीका केन्द्रीय सदस्य दलजित शिर्पाली, मेघबहादुर श्रेष्ठ र रामसुर बुढा, प्रदेश सचिवालय सदस्य होमप्रकाश श्रेष्ठ, जिल्ला संयोजक कुमारी बरालको आतिथ्यता रहेको थियो । बैठकको संचालन सचिव नारायण पुनले गर्नुभएको थियो ।