रुकुम (पूर्व) मा स्वास्थ्य कार्यालयको वार्षिक प्रगति समिक्षा तथा योजना तर्जुमा कार्यक्रम सुरु भएको छ । स्वास्थ्य कार्यालयले आर्थिक वर्ष २०७९÷८० मा सम्पादन गरेका कार्यक्रमहरुको जिल्लास्तरीय वार्षिक प्रगति समिक्षा तथा योजना तर्जुमा गोष्ठिको आयोजना गरेर वार्षिक प्रगति समिक्षा तथा चालु आर्थिक वर्षको लागि योजनाको खाका बनाउने कार्य सुरु भएको छ ।
यो कार्यक्रम आज र भोली दुइ दिनसम्म चल्ने छ । आज पहिलो दिन जिल्लास्थित तीन वटै गाउँपालिकाका स्वास्थ्य शाखाहरुबाट सम्पादित कार्यहरुको रिपोर्टीङ गर्ने काम भइरहेको छ । भोली स्वास्थ्यसँग सम्बन्धित रहेर जिल्लामा काम गरिरहेका विभिन्न अन्य सरकारी तथा गैर सरकारी निकायहरुले रिपोर्टीङ गर्ने छन् ।
रिपोर्टीङको क्रममा विभिन्न सुचकाङ्कहरुको आधारमा सर्वोत्कृष्ट स्वास्थ्यसंस्था र पालिका छनोट गर्ने स्वास्थ्य कार्यालय रुकुम (पूर्व) का प्रमुख नारायण प्रसाद चौधरीले जानकारी दिनुभयो । रिपोर्टीङपछि गत आर्थिक वर्षको समिक्षा गरेर चालु आर्थिक वर्षको लागि कार्ययोजना निर्माण गर्न खाका तयार गरिने कार्यालय प्रमुख चौधीले बताउनुभयो । विगतको कार्यक्रम र त्यसबाट सिकेका कुराहरुलाई मध्यनजर गरेर चालु आर्थिक वर्षको कार्ययोजना तयार गर्ने र त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने स्वास्थ्य कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ ।
स्वास्थ्य कार्यालय रुकुम(पुर्व) का प्रमुख नारायण प्रसाद चौधरीको अध्यक्षतामा चलिरहेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख मोहनबहादुर केसी, सिस्ने गाउँपालिकाका कार्याबाहक अध्यक्ष सूर्यबहादुर नेपाली, स्वास्थ्य निर्देशनालय दाङ्का भरत कुवर, रुकुम(पूर्व) अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जितेन्द्रराज कोइराला लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा तिन वटै गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक, सहसंयोजक, रेडक्रस, स्वास्थ्यसँग संबन्धित रहेर काम गर्ने जिल्लास्थित गैर सरकारी संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिती रहेको छ । कार्यक्रमको संचालन स्वास्थ्य कार्यालय रुकुम(पूर्व) का जनस्वास्थ्य निरिक्षक श्याम सुन्दर चौधरीले गरिरहनुभएको छ ।