रुकुमकोटः रुकुम पूर्वको सिस्ने गाउँपालिकाले अनुदानमा गहुँ र लसुनको विउ वितरण गर्न निवेदन संकलन सुरु गरेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि शाखाले बिउ वितरणका लागि निवेदन संकलन सुरु गर्न थालेको हो ।
कृषकलाई ८० प्रतिशत अनुदानमा बिउ उपलब्ध गराउने गरि निवेदन संकलन सुरु गरिएको पालिकाका कृषि नायब प्राविधिक सहायक शक्ति केसीले जानकारी दिनुभयो । यसमा २० प्रतिशत लगानी कृषकको हुनेछ । पालिका भरिका इच्छुक किसानले बिउ मागको निवेदन दिन सक्ने उहाँले बताउनुभयो ।
उहाँका अनुसार रुकुमकोटका दुई वडा ५ र ६ का कृषकले गाउँपालिका कार्यालयमा निवेदन दिन सक्ने छन । यस्तै १ र २ नम्बर वडका किसानले २ नम्बर वडा कार्यालमा र अन्य वडाका कृषकले सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्न सक्ने छन ।
बिउ मागको लागि इच्छुक कृषकले व्यक्तिगत निवेदनको साथमा आवश्यक पर्ने बिउ र परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपी पेश गर्नु पर्नेछ । पालिकाले प्रति किसान न्युनतम ५ देखि अधिकतम २० केजीसम्म गहुँ र प्रति किसान न्युनतम २ देखि अधिकतम ७ केजीसम्म लसुनको बिउ उपलब्ध गराउने छ ।
किसानको माग बमोजिम अनुदानमा गहुँ र लसुनको बिउ वितरण कार्यक्रम राखिएको पालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिनुभयो । वितरण गर्ने दुवै बिउ उन्नत किसिमका हुने छन । आगामि असोज १४ गतेसम्म बिउ मागको निवेदन पेश गर्न सकिने छ । गाउँपालिकाले बिउ मागको निवेदन संकलनको लागि सार्वजनिक सूचना जारी गरेको छ ।