रुकुम(पूर्व) मा बृहत्तर यौनिकता शिक्षा प्राविधिक कार्य समुहको बैठक बसेको छ । लेक सिटीमा बसेको आजको बैठकमा यस अघिको बैठकमा गरिएका निर्णय र निर्णय कार्यान्वयनको अवस्थाको बारेमा समिक्षा गरिएको छ । बैठकमा सिस्ने र भूमे गाउँपालिकाका शिक्षा शाखाका प्रमुख एवम् प्रतिनिधिहरुले बृहत्तर यौनिकता शिक्षा सम्बन्धि पालिकाले गरेका गतिविधिहरुको बारेमा जानकारी गराउनुभएको थियो भने किशोरकिशोरीमैत्री सुचना केन्द्रका फोकल पर्सन(शिक्षक) ले पनि विद्यालयमा हुने गरेका गतिविधिहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
जिल्लाको सिस्नेमा ९ र भूमे गाउँपालिकाको ८ गरी १७ वटा विद्यालयमा बृहत्तर यौनिकता शिक्षा कार्यक्रम लागु गरिएको छ । बैठकमा संयुक्त राष्ट्र संघिय जनसंख्या कोष(यूएनएफपीए) का जिल्ला अधिकृत भूवन सेजुवालले अहिले स्थानीय तहहरुले पनि बृहत्तर यौनिकता शिक्षालाई प्राथमिकताका साथ निति तथा कार्यक्रममा समेटेको जानकारी गराउनुभएको थियो । भूमे गाउँपालिकाले यस सम्बन्धि पाठ्यपुस्तक तयार पारेर विद्यार्थीलाई पढाइरहेको छ भने सिस्ने गाउँपालिकाले पनि कार्यक्रमको लागि बजेट विनियोजन गरेको छ ।
बृहत्तर यौनिकता शिक्षा कार्यक्रमले विद्यालयमा किशोरकिशोरीमा धेरै परिवर्तनहरु ल्याएको छ । विद्यालयहरुमा किशोरकिशोरीमैत्री सुचना केन्द्र स्थापना भएर काम हुदै आएका छन् । किशोरकिशोरीमैत्री सुचना केन्द्र स्थापना गरेर काम गर्दै गर्दा विभिन्न कारणले अपेक्षित रुपमा उपलब्धि हासिल नसकेपनि क्रमिक रुपमा परिवर्तन हुदै गएको बैठकमा सहभागिहरुले बताएका थिए । यसअघि यूएनएफपिएले यो कार्यक्रम सिद्धार्थ सामाजिक विकास केन्द्रसँगको साझेदारीमा संचालन गर्दै आएको थियो । अब भने यो कार्यक्रम सिसो नेपालसँगको साझेदारीमा संचालन हुने यूएनएफपिएका जिल्ला अधिकृत सेजुवालले बताउनुभयो ।
बैठकमा साझेदारी संस्था सिसो नेपालका कार्यकारी निर्देशक खुमानन्द सुवेदीले बृहत्तर यौनिकता शिक्षाको परिचय, यसको आवश्यकता तथा महत्व, दिगो विकास लक्षमा बृहत्तर यौनिकता शिक्षा, नेपालका निति तथा रणनितिहरुमा बृहत्तर यौनिकता शिक्षा, नेपालमा सबै किशोरकिशोरीहरुले बृहत्तर यौनिकता शिक्षा पढ्न पाउने सुनिश्चितता कस्तो छ भन्ने विषयमा जानकारी गराउनुभएको थियो । साथै बृहत्तर यौनिकता शिक्षामा रुकुम(पूर्व) मा भएका कार्यहरु र यस वर्षमा संचालन गरिने कार्यहरुको बारेमा छलफल गरिएको थियो ।
बृहत्तर यौनिकता शिक्षा जिल्ला प्राविधिक समितीका संयोजक एवम् शिक्षा विकास तथा समन्वय एकाई रुकुम(पूर्व) का प्रमुख तिलक गौतमले बृहत्तर यौनिकता शिक्षा कार्यक्रम संचालन गर्दै गर्दा भौतिक सामाग्री अभाव, विद्यार्थीलाई ग्रहण गराउने कुरा र निरन्तरताको कुरा चूनौतीपूर्ण रहेको बताउनुभयो । तर सबै सहकार्य गरेर अगाडी बढ्दा कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न सकिने उहाँले बताउनुभयो ।
गौतमको अध्यक्षतामा बसेको बैठकमा निमित्त जिल्ला समन्वय अधिकारी रविन्द्र बुढाक्षेत्रीको प्रमुख आतीथ्यता रहेको थियो । बृहत्तर यौनिकता शिक्षा जिल्ला प्राविधिक समितीका सदस्यहरु र सिसो नेपालका कार्यकारी निर्देशक खुमानन्द सुवेदी लगाएतको उपस्थिती रहेको थियो ।