रुकुम(पूर्व) मा हुने विद्युत सेवाको अनियमिततालाई ध्यानमा राखी नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रमा उद्योग बाणिज्य संघले ध्यानाकर्षण पत्र बुझाएको छ । उद्योग बाणिज्य संघका अध्यक्ष केवेन्द्र गौतम नेतृत्वको टोलीले आज वितरण केन्द्र कार्यालयमा पुगि कार्यालयकै अगाडि मैनबत्ति बालेर ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्रमा लेखिएको छ, “नेपालको संविधान २०७२ अनुसार संघीयता लागू पछि बनेको यस रुकूम पूर्व जिल्ला भित्र नेपाल विद्युत प्राधिकरणले आफ्नो सेवा विस्तार गरेकोमा सेवा गुणस्तरतर्फ पर्याप्त ध्यान नदिएको कारणले जिल्लावासी तथा आम विद्युत उपभोक्ताहरुले आफ्नो घर, व्यवसाय, कार्यालयमा विद्युतको तार र चिम झुन्ड्याउनु बाहेक अन्य कुनै ठुलो उपलब्धि विद्युत प्राधिकरण रुकुम(पूर्व) को देखिएन । बारम्बार विद्युत सेवा अवरुद्ध भइराख्दा आफ्नो सम्पती धितो बन्धक राखी व्यवसाय गरिरहेका व्यवसायीहरुको कारोबार धरायिी भई संकटपूर्ण अवस्थामा पुगेको बेलामा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र रुकुम(पूर्व) ले आफ्नो सेवा गुणस्तर वृद्धि गर्ने सवालमा समयमै प्रभावकारी योजना नबनाउने हो भने आगामी दिनमा झनै कष्टकर अवस्था सिर्जना हुने देखिन्छ ।
रुकुम पुर्व जिल्लामा उत्पादित राप्ति हाईड्रपावरको विद्युत यहि जिल्लामा विस्तार नगरी पश्चिम रुकुम लगेर पुनः जिल्लामा ल्याउने कार्यले राज्यको व्ययभार पनि बढ़ेको छ । सो विद्युत यहिबाट वितरण गर्दा समस्या रहने हो ? जिल्लामा विद्युत आपूर्ति भइरहदा रुकूम पुर्व सधै अध्यारोमा बस्ने किन ? विद्युत सेवा अनियमितताकै कारण रुकुमकोटमा खानेपानीको अभाव हुनुका साथै यहाँका नागरिकहरुको जनजिवन अस्तव्यस्त भइरहेको कुरालाई ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । यसै सन्दर्भमा रुकुम(पूर्व) मा विद्युत सेवालाई सहज आपूर्तीको व्यवस्था मिलाउन अनुरोध गर्दै ध्यानाकर्षण पत्र बुझाएको उद्योग बाणिज्य संघ रुकुम(पूर्व) का अध्यक्ष गौतमले बताउनुभयो । उहाँले नियमित विद्युत आपूती हुन नसकेमा र यसमा कार्यालयले तदारुकता नदेखाएका तालाबन्दि गर्ने चेतावनी समेत दिनुभएको छ ।
नेपाल विद्युत प्राधिकरण रुकुम(पूर्व) वितरण केन्द्रका प्रमुख सुरेस चौधरीले केहि दिनयता विद्युत आपूर्तीमा समास्या भएको सत्य भएको बताउदै रुकुम(पूर्व) को सवस्टेसन रुवाबाङ्मा नबन्दासम्म समस्या अईरहन बताउनुभयो । रुकुम पश्चिमबाट आउने ३३ केभिएको लाईन मर्मतमा स्थानीय तथा प्रदेश सरकारको पहल भने नपुगेको बताउनुभएको छ ।