रुकुम(पूर्व) को सिस्ने गाउँपालिकाले एकिकृत घुम्ति शिविर संचालन गरेको छ । सिस्ने गाउँपालिकाको केन्द्रबाट टाढाको दुरीमा रहेका सडक सुविधा नपुगेको १ र २ नम्बर वडाको विभिन्न ठाउँमा शिविर संचालन गर्दै छ । आज सिस्ने गाउँपालिकाको २ नम्बर वडा नायगाडबाट गाउँपालिकाले शिविरको सुरुवात गरेको छ ।

सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गोपाल रेउले र प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माको नेतृत्वमा वडा नम्बर २ को नायगाडमा एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । एकीकृत घुम्ती शिविरमा बिरामीहरुको स्वास्थ्य परिक्षण, अपांग तथा जेष्ठ नागरिक परिचयपत्र वितरण, टोल विकास समिती गठन सम्बन्धी अभिमुखिकरण तालिम र कृषकहरुलाई तरकारीको बिउ – बिजन वितरण गरिएको सिस्ने गाउँपालिका प्रशासन अधिकृत अरुण ओलीले जानकारी दिनुभएको छ ।

शिविरको पहिलो दिन नायगाडमा ४३ जनाले स्वस्थ्य परिक्षण गराएका छन । जसमा महिला ३३ पुरुष १० जना रहेका छन । त्यस्तै १२ जनालाई अपांगता परिचयपत्र तथा १ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ । १२३ जना कृषकहरुलाई रायो साग, गाँजर, मुला, धनिया र केराउको बिउ – विजन वितरण गरिनुका साथै टोल विकास समिती गठन सम्बन्धी अभिमुखिकरण तालिम पनि गराइएको छ ।

सिस्ने गाउँपालिकाको १ र २ नम्बर वडा पालिका केन्द्रबाट केही विकट तथा टाढाको दुरिमा रहेकाले गाउँमै सेवा उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरिएको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभएको छ । अझ विशेष गरी सिस्ने गाउँपालिका १ नम्बर वडाका नागरिकलाई भौगोलिक विकटता र सडक सुविधा अभावका कारण पालिकाको केन्द्रसम्म पुगेर विभिन्न सेवा सुविधा लिन निकै समस्या पर्ने गरेको छ । यहि समस्यालाई धम्यनजर गर्दै र त्यहासम्म पुगेर नागरिकका समस्या संकलन गर्ने र गएको बेलामा पालिकाबाट प्रदान गरिने सेवा सुविधा शिविरमार्फत प्रदान गर्ने उदेश्यका साथ साताव्यापी कार्यक्रम गराएर १ र २ नम्बर वडाको विभिन्न ठाउँमा जाने काार्यक्रम बनाएको गाउँपालिका अध्यक्ष रेग्मिले बताउनुभयो ।

सिस्ने गाउँपालिकाबाट पालिका अध्यक्ष उपाध्यक्ष सहितको टोली घुम्ति शिविर लिएर गाउँमा पुगेपछि त्यहाँका नागरिकहरु खुसी भएका छन् । नागरिकको सबैभन्दा नजिकको सरकार एकिकृत सेवा सहित गाउँमा पुगेर सेवा दिएपछि आफुहरु खुसी भएको नायगाडका स्थानीयले बताएका छन् ।

आइतबार वडा २ बाट सुरु गरिएको शिविर सिस्ने १ को विभिन्न ठाउँमा संचालन गरिने सिस्ने गाउँपालिकाले जनाएको छ । शिविरमा गाउँपालिकाबाट सम्बन्धित शाखाका प्रमुख तथा प्रतिनिधिहरु रुकुम(पूर्व) अस्पतालका मेडिकल अधिकृत डाक्टर पुर्णबहादुर पुन र अनिश श्रेष्ठ लगाएतको टोली रहेको छ ।