गत साउन २० बच्चा जन्माउन नसकेर मृत्यु भएकी रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर १ सिस्नेकी २५ वर्षीय सपना बुढाका श्रीमानलाई सहयोग प्राप्त भएको छ । आमाको मृत्यु भएपछि छोरीलाई पढाइ लेखाइमा राहत होस भन्ने उद्देश्य सिस्ने गाउँपालिकाले सहयोग गरेको हो । घुम्ती शिविर लिएर सिस्ने पुगेको गाउँपालिकाको टोलीले मङ्गलवार वडा कार्यालयमा बोलाएर श्रीमान् रमेश बुढालाई सहयोग स्वरूप नगद २५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

घरको आर्थिक अवस्था कमजोर भएका बुढालाई गाउँ कार्यपालिकाको निर्णय अनुसार सहयोग गरेको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिनुभयो । सुत्केरी हुन स्वास्थ्य संस्था जानु पर्छ भन्ने थाहा नहुँदा सपनाको मृत्यु भएको स्मरण गर्दै आउँदा दिनहरूमा यस्ता घटना हुन नदिनको लागि समयमै गर्भवती महिलालाई स्वास्थ्य संस्था लैजान गाउँपालिका अध्यक्ष रेग्मीले वडावासीलाई आग्रह गर्नुभयो ।

उक्त वडा गाउँपालिकाको केन्द्र देखि सबै भन्दा टाढाको वडा हो । सो वडामा गाउँपालिकाले बर्थिङ सेन्टर सहितको स्वास्थ्य संस्था बनाउन सकेको छैन । बर्थिङ सेन्टर नहुँदा गर्भवती महिलाहरूले जोखिम मोलेर घरमै बच्चा जन्माउने गरेका छन् ।

गाउँपालिका अध्यक्ष कृष्ण रेग्मि, उपाध्यक्ष गोपाल रेउले, प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा लगाएतको नेतृत्वमा गएको टोलीले आधारभूत विद्यालय सिस्ने पोखरी र हिमालय माध्यमिक विद्यालय पाखापनीमा अनुगमन तथा विद्यालयको समस्या समाधानको बारेमा अन्तरक्रिया सम्पन्न गरेको छ । साथै टोल विकास गठन सम्बन्धी अभिमुखिकरण तालिम सप्पन्न भएको छ ।

शिविरमार्फत ७ जनालाई अपाङ्गता तथा जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ भने २ सय ५ जनालाई विभिन्न तरकारीको बीउ–बिजन वितरण गरिएको छ । ५३ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । जसमा ७८ जनालाई औषधी वितरण गरिएको छ । घर आगनमै आएर सिस्ने गाउँपालिकाले सेवा प्रदान गरेको भन्दै सिस्नेका नागरिकहरुले खुसी व्यक्त गर्दै सिस्ने गाउँपालिकालाई धन्यवाद दिएका छन् ।