काठमाडौ: सरकारले भूकम्पमा परी घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिनुभएको छ ।
‘सबै घाइतेहरुको निःशुल्क उपचार हुन्छ । जति महँगो उपचार गर्न पर्यो भने पनि निःशुल्क हुन्छ,’ बैठकपछि उहाँले भन्नुभयो । निजी अस्पतालहरुमा पनि निःशुल्क उपचार गराउने प्रस्ताव आफूले राखेको बस्नेतले बताउनुभयो ।
उहाँका अनुसार भूकम्प पीडितहरुको उद्धारको काम सकिइसकेको छ । अब घाइतेको उपचार, राहत र पुनर्स्थापनाको कामलाई सरकारले तीव्रता दिने निर्णय गरेको छ ।
खाद्यान्न, त्रिपाल र टेन्टहरु केही प्रभावित क्षेत्रमा पुगिसकेको र केही पुग्ने क्रममा रहेको जानकारी दिँदै उनले भने, ‘खाद्यान्न वितरण आजदेखि हुँदैछ । कुनै पनि काम कम नहुने गरी सरकारले गर्ने छ ।’
भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई राहत रकमको विषयमा सोधिएको प्रश्नमा भने उहाँले स्पष्ट जानकारी दिनुभएन । ‘पहिले तीन लाख रुपैयाँ दिइएको थियो । त्यसलाई थप गर्ने प्रस्ताव छ ।
तर टुंगो लागिसकेको छैन,’ उहाँ ले भन्नुभयो । विभिन्न देशहरुले भूकम्प पीडितहरुलाई सहयोग गर्न खोजेको भन्दै उहाँले कस्तो खालको सहयोग लिने भनेर सरकारले मापदण्ड बनाउने बताउनुभएको छ ।