रुकुम(पूर्व)‚ यूनाइटेड मिसन टु नेपाल रुकुम(पूर्व) क्लष्टर(यूएमएन) को सामाजिक लेखापरिक्षण सम्पन्न भएको छ । आज रुकुमकोटको छिप्रिदहस्थित होटेल लेक सिटीमा यूएमएनले आर्थिक वर्ष ७९/८० को सामाजिक लेखा परिक्षण गरेको हो ।

यूएमएनले रुकुम(पूर्व) मा विभिन्न परियोजनाहरु संचालन गर्दै आएको छ । यूएमएनले जिल्लामा स्थानीय साझेदार संस्थाहरुमार्फत हाल दीगो वातावरण तथा आर्थिक विकास (SEED) परियोजना‚ स्थानीय परम्परागत ज्ञानको स्तर उन्नतीको लागि रुपान्तरण (UPLIFT) परियोजना‚ प्रत्येक बालबालिका तथा किशोरकिशोरीहरुको उत्तम जिवन प्राप्ती (ABLE) परियोजना २‚ अपाङ्गता पुनर्स्थापना परियोजना र सामुदायिक रुपान्तरण परियोजना (PROACT) परियोजना संचालन गर्दै आइरहेको छ ।

सिड परियोजनामार्फत पुथा उत्तरगंगा गाउँपालिकाको १० वटा वडाहरुमा वातावरणीय स्रोतको भविष्य सुरक्षित गर्दै व्यवसायिक कृषी र उद्यमशिलता विकास गरी आर्थिक समृद्धीका कार्यक्रमहरु संचालन गरिदै आइएको छ । जस अन्तर्गत २२ जनालाई सिलाईकटाइ‚ बाख्रापालन‚ सुधारिएको पानी घट्ट‚ होमस्टे‚ तरकारी खेती‚ पसल आदी सहयोग गरिएको थियो । परियोजना अन्तर्गत एक सय ७३ विपन्न परिवारले आयआर्जनका लागि सहयोग पाएका छन् ।  जसमध्ये ६८ जनाले पौष देखि असार मसान्तसम्म औसतमा रु २९ हजार २ सय ४६ प्रतिव्यक्ती आम्दानी गरिरहेको बताइएको छ । साथै यस वर्ष समुहरहरुको अगुवाइमा टोलटोलमा फोहोर व्यवस्थापनका लागि २१ वटा खाल्डो निर्माण गरिएको छ ।

अपलिफ्ट परियोजना अन्तर्गत पुथा उत्तरगंगा गाउँपालिका ११ मा राडिपाखी निर्माणको कार्यभार घटाउने‚उत्पादकत्व र आम्दानी बढाउने‚ नयाँ प्रविधि र क्षमतामार्फत परम्परागत पेशाको प्रवर्धन गर्ने कार्य भइरहेको छ । यस वर्ष परियोजना अन्तर्गत भेडाको ऊन कार्डिङ मेसिनसँगै भेडँको कपाल काट्ने मेसिन र इलेक्ट्रिक मेसिन उपलब्ध गराइएको छ । यस मेसिनले भेडाको ऊन कोर्ने प्रक्रियालाई दुई दिनमा हुने काम ३० मिनेटमा तयार गर्न सहयोग गर्दछ । एबल परियोजना २ मार्फत पुथा उत्तरगगा गाउँपालिकाको ९ वटा वडामा बालविवाह अन्त्य‚ जकडिएको परम्परागत हानिकारक अभ्यासहरुको कारण बालबालिकाको शिक्षा‚ प्रजनन् स्वास्थ्य‚ घर परिवारमा हुने आन्तरिक द्धन्द्ध‚ पारिवारिक विचलन लगाएतका समस्याले बालबालिका  तथा किशोरीहरुमा पर्ने नकारात्मक असरहरुको न्यूनिकरण गर्ने कार्य भइरहेको छ । ‍

यस्तै अपाङ्गता पुनर्स्थापना परियोजना अन्तर्गत तीन वटा पालिकाका अपाङ्गता भएका १२ जना बालबालिकाहरुको पुनर्स्थापना गरी दैनिक जिवनयापनमा सहयोग गर्नुका साथै अती विपन्न परिवारको आयआर्जनमा सहयोग गरेको छ ।  यस्तै प्रोयाक्ट परियोजना भूमे गाउँपालिकाको ९ वटै वडा र पुथा उत्तरगंगा गाउँपालिकाको ४ वटा वडाहरुमा संचालनमा रहेको छ । यस परियोजनाले कार्य क्षेत्रका लक्षित समुदायहरु मानसिक स्वास्थ्य समस्या भएका व्यक्ती‚ समुदायका अती गरिब तथा विपन्न व्यक्तीको स्वास्थ्य‚ सामाजिक आर्थिक स्थितीमा सुधार गर्दै मर्यादित जिवनयापन गर्न सहयोग पुर्याइरहेको छ  यस परियोजना अन्तर्गत ३५ जना स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्य तथा मनोबैज्ञानिक प्राथमिक उपचार क्षमता विकास र स्थलगत सुपरिवेक्षण सम्बन्धि क्षमता विकासबाट समुदायका ५ सय ९७ जनाले स्वास्थ्य सेवाको बारेमा जानकारी लिएर सेवा लिएका छन् । ३ सय ८ जना मानसिक बिरामीहरु स्वास्थ्य सेवाको पहुँचमा पुगेका छन् । जिल्लास्तरीय वशेषज्ञ मानसिक स्वास्थ्य शिविरबाट ४ सय ५६ जनाले सेवा लिएका छन् । ६ वटा स्वास्थ्य संस्था र ३ वटा विद्यालयमा शुद्ध खानेपानफ तथा सरसफाइ लागि शौचालय तथा धारा निर्माण र मर्मतसम्भार गरिएको जानकारी सामाजिक लेखा परिक्षण कार्यक्रममा जानकारी गराइएको छ ।

कार्यक्रममा सहभागिहरुले यूएमएनले गरेको कामहरुको प्रशंसा गरेका थिए । साथै केहि सल्लाह सुझाव पनि दिएका थिए । कतिपय लाभग्राहीले यूएमएनको सहयोगमार्फत आफ्नो जिवन परिवर्तन भएको बताएका छन् । यस्तै जिल्लास्थित जिल्ला समन्वय समितिका प्रमुख‚ उपप्रमुख‚ गाउँपालिका अध्यक्ष‚ प्रमुख जिल्ला अधिकारी लगाएतले यूएमएनले गरेको काम निकै राम्रो गरेको बताउनुभयो । यस संस्थाले विभिन्न परियोजनामार्फत गरेका कामकाजले यहाँका नागरिकको चेतनास्तरमा र जिवनस्तरमा परिवर्तन आएको बताउनुभएको छ । सामाजिक लेखा परिक्षणको क्रममा सहभागिहरुबाट आएको सुझावको आधारमा नयाँ कार्ययोजनाहरु तयार गरी कार्यान्वयन गर्ने यूएमएनका टिम लिडर शिव प्रशाद अधिकारीले बताउनुभएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट ७ करोड रहेको थियो ।

यूएमएनका टिम लिडर अधिकारीको अध्यक्षतामा भएको सामाजिक लेखा परिक्षण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठको प्रमुख र उपप्रमुख मोहनबहादुर केसीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ‚ प्रमुख जिल्ला अधिकारी माधव प्रशाद शर्मा लगाएत जिल्लास्थित सरकारी कार्यालय र गैर सरकारी कार्यालयका प्रमुख‚ लाभग्राही नागरिक‚ पत्रकार लगाएतको उपस्थिती रहेको थियो । सामाजिक लेखा परिक्षणको सहजिकरण नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले गर्नुभएको थियो । यूएमएनको इतिहासको बारेमा उत्थानशिल जिविकोपार्जनको परियोजना व्यवस्थापक सुरज सोनारले जानकारी गराउनुभएको थियो । शिक्षा परियोजना अधिकृत रन्जु कुमारी राइको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन संरक्षण परियोजना व्यवस्थापक करुणा थापाले गर्नुभएको थियो ।