नेकपाका एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले घर खेत बेचेर अमेरिका नजान आग्रह गर्नुभएको छ । “संकल्पको लागि समृद्धी यात्रा २०८०” को क्रममा रुकुम पूर्वमा आउनुभएका एमाले अध्यक्ष ओलीले सर्वपक्षिय/सर्वदलिय अन्तरक्रिया कार्यक्रम र जनतासँग भेटघाट कार्यक्रमलाई संबोधन गर्दै रुकुम पूर्वका नागरिकलाई आफ्नो घरखेत बेचेर अमेरीका जान मरिहत्ते नगर्न आग्रह गर्नुभएको हो ।

 

“मैले रुकुम पूर्वका युवा देखी लिएर सबै पुस्ताका नागरिकहरु आफ्नो घरखेत बेचेर अवैध बाटो हुँदै अमेरिका गएको भन्ने कुरा मैले सुनेको छु”‚ एमाले अध्यक्ष औलीले भन्नुभयो‚ “तपाईहरु अमेरिका नजानुस‚ त्यही घर खेतबारीलाई सुनको टुक्रामा परिणत गर्नुस ।” उहाँले थप्नुभयो‚ “अन्य विकसित देशलाई हेरौ ती देशको विकास त्यहीकै नागरिकले गरेका हुन् । हामी विदेश मात्र देख्छौ । विदेश पलायन हुनु राम्रो कुरा होइन् । हाम्रो देश सानो छ । जनसंख्या थोरै छ । विकास गर्न सजिलो छ । त्यसैले हाम्रो देशको विकास हामी आफैले गर्नुपर्छ ।”

 

नेपालमा जती विकास गर्न सजिलो र सम्भावना अन्य देशमा नभएको बताउदै एमाले अध्यक्ष ओलीले हरेश नखान रुकुम पूर्वबासीलाई आग्रह गर्नुभएको छ । युवा पुस्ता विदेश पलायन भइरहदा यसतर्फ वर्तमान सरकारले ध्यान नदिएको भनाई ओलीको थियो । अहिले एमालेले “संकल्पको लागि समृद्धी यात्रा २०८०” भनेर पूर्व-पश्चिम यात्रा सुरु गरेको बताउदै यो अभियान जागरणको अभियान भएको एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्धी ओलीले बताउनुभयो ।

 

“अहिले हामी जनतासँग भएका समस्या स‌ंकलन गर्ने र समस्याको समाधान खोज्ने अभियानमा छौ”‚ उहाँले भन्नुभयो‚ “अभियानका क्रममा आएका समस्यालाई समाधानको लागि सरकारमा दबाव दिने छौ । सरकारले यी समस्याको समाधान गर्न नसकेको खण्डमा यो सरकारलाई हटाई हाम्रो नेतृत्वमा सरकार बनाई यी समस्याहरुको समाधान गर्ने छौ ।” अहिले हामीले थालेको समृद्धीको यात्रापछी आउदो २०८४ को चुनावमा नेकपा एमाले पूर्ण बहुमतसहित सरकारमा आउने भनाई अध्यक्ष ओलीको थियो ।

 

यस्तै रुकुम पूर्वले विकासको मागपत्र पनि एमाले अध्यक्ष ओलीलाई बुझाएको छ । सर्वपक्षिय र सर्वदलिय रुपमा एकमुष्ट तरिकाले जिल्ला समन्वय समित रुकुम पूर्वका प्रमुख मेघ बहादुर श्रेष्ठले ओलीलाई मागपत्र बुझाउनुभएको हो । माग पत्र बुझ्दै यहाँका समस्या समाधानको लागि सरकार समक्ष पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।