रुकुम पूर्वमा बौलाह कुकुरको बिगबिगी बढेको छ । बौलाह कुकुरले मान्छे र पशुचौपायालाई टोक्दै हिड्न थालेपछी मानिसहरु त्रसित बनेका छन् । २७ गते बुधबारको दिनमा मात्र भूमे गाउँपालिकामा बौलाह कुकुरले ९ जना मानिस र केहि पशुचौपायाहरुलाई टोकेको छ ।

जिल्लाको भूमे गाउँपालिका १ नम्बर वडाको लुकुम‚ ५ नम्बर वडाको डालीबाङ‚ २ नम्बर वडाको खाबाङमा एकै दिनमा ९ जनालाई बौलाह कुकुरले टोकेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । भूमे १ लुकुमका जितकुमारी पुन‚ नियसन पुन‚ मन कुमारी कामी‚बल बहादुर घर्ती मगर‚ सरिता विक‚ कर्म घर्ती बुढा‚ खाबाङका शुशिला पुन‚ काँक्रीका उजेली माया बुढा‚ डालिबाङका राम कुमार बुढा मगरलाई कुकुरले टोकेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का सुचना अधिकारी एवं प्रहरी निरिक्षक हरि प्रसाद भट्टराईले जानकारी दिनुभयो । बौलाह कुकुरले सिस्नेमा पनि एउटा भैसीलाई टोकेको छ ।

रुकुम(पूर्व) अस्पतालमामा रेबिज विरुद्धको खोप लगाएपछि घाइते सबैलाई थप उपचारको लागि रुकुम पश्चिम सल्ले अस्पताल पठाइएको छ । रुकुम पूर्व अस्पतालमा रेबिज विरुद्धको खोप मात्र भएको र बौलाह कुकुरले टोकेकोहरुलाई घाउ भएको कारण थप सुरक्षाको लागि इमिनोग्लोबिन लगाउनुपर्ने हुँदा उनिहरुलाई रुकुम पश्चिम पठाएको रुकुम पूर्व अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जितेन्द्रराज कोइरालाले जानकारी दिनुभयो ।

जिल्लाको विभिन्न ठाउँमा बौलाह कुकुरको आतंक फैलिएपछि छाडा कुकुरलाई खोप लगाउन थालिएको छ । आज बिहान मात्रै रुकुमकोटमा जिल्ला प्रहरी कार्यालय र सिस्ने गाउँपालिकाको समन्वयमा एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले १९ वटा छाडा कुकुरलाई रेबिज बिरुद्धको खोप लगाएको छ । रुकुमकोटमा छाडा कुकुरहरु धेरै छन्  । भूमेमा बौलाह कुकुरको बिगबिगी बढेपछी छाडा कुकुरमा पनि त्यस्तो समस्या आउन सक्ने भन्दै कार्यालयले छाडा कुकुरलाई छोपेर खोप लगाएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका कार्यालय प्रमुख पिताम्बर बस्नेतले जानकारी दिनुभयो । उहाँकाअनुसार आज सिस्ने गाउँपालिकाको ५  नम्बर वडा अन्तर्गत कमल दह‚ बाहुनठाना‚ खाराचोक‚ चोकबजार‚ टाकुरा र ६ नम्बर वडाको छिप्रीदहमा छाडा कुकुरलाई खोप लगाइएको हो ।

भूमे गाउँपालिकामा पनि आजबाट छाडा कुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाउन सुरु गरिने पशु शाखाका नारायण ओलीले जानकारी दनुभयो । मान्छे टोकेको बौलाह कुकुरलाई भने २७ गते नै छोपेर मारिएको छ ।

रुकुम पूर्वमा बौलाह कुकुरको बिगबिगी बढेपछि जिल्लाबासीलाई आफुले पालेका कुकुरलाई सम्बन्धित गाउँपालिका वा एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालयमा आएर खोप लागाउन आग्रह गरिएको छ । साथै नागरिकलाई सुरक्षित र सजग बस्न आग्रह गरिएको छ ।