रुकुम पूर्वमा एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको  छ । सिस्ने गाउँपालिका वडा नम्बर ६ निवासी २८ वर्षकी सरस्वती डाँगी विष्टको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

सुत्केरी हुन १५ गते सोमबार रुकुम पूर्व अस्पतालमा जानुभएको उहाँको अप्रेसन गरेर बच्चा निकालिएको थियो । बच्चा निकालिसकेपछि पनि सालनाल नझरेपछी उहाँलाई नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेत लगिएको रुकुम पूर्व अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जितेन्द्रराज कोइरालाले जानकारी दिनुभयो । “विष्ट सुत्केरी हुनको लागि हिजो अस्पतालमा भर्ना हुनुभएको थियो” उहाँले भन्नुभयो‚ “सुत्केरी व्यथा अघि बढ्न नसकेपछि उहाँलाई व्यथा लाग्ने औषाधी खुवाएका थियौ ।” औषाधी खुवाउदा पनि उहाँको पाठेघर ३ घर भन्दा धेरै नखुलेपछी अप्रेसन गरेर बच्चा निकालेको डाक्टर कोइरालाको भनाई  छ ।

बच्चा स्वस्थ जन्मिएको अस्पतालले जनाएको  छ । तर सुत्केरीको सालनाल नझरेको र रक्तस्राव पनि धेरै भएपछि उहाँलाई हेलिकप्टर मार्फत उद्धार गरिएको हो । उहाँको सालनाल पाठेघरलाई छेडेर जोडिएको अवस्थामा रहेको र यस्तो अवस्थामा पाठेघर नै निकाल्नुपर्ने भएको कारण यहाँ यसको लागि आवश्यक स्रोत साधन नहुँदा रिफर गर्नुपरेको अस्पतालका नि. मेसु डाक्टर कोइरालाले बताउनुभएको  छ ।