
रुकुम पूर्वमा मानसिक स्वास्थ्य सेवा प्रवर्द्धनका लागि योग ध्यान कार्यक्रम संचालन गरिएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पूर्वले जिल्ला प्रहरी कार्यालयको टोलीलाई लक्षित गरी कार्यक्रम संचालन गरेको हो ।
कार्यक्रममा योग र ध्यानको बारेमा सैद्धान्तिक कुराहरु जानकारी गराउनुका साथै प्रयोगात्मक तरिकाले अभ्यास पनि गराइएको छ । कार्यक्रममा रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी मामधव प्रशाद शर्मा‚ प्रहरी नायव उपरिक्षक अन्जना श्रेष्ठ‚ प्रहरी निरिक्षक हरि भट्टराई सहित अन्य सुरक्षाकर्मी‚ पत्रकारहरुको उपस्थिती रहेको थियो । योग ध्यान कार्यक्रममा आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख विष्णुहरी आचार्यले योगा अभ्यास गराउनुभएको थियो ।
योगा अभ्यासपछी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शर्माले आत्महत्या‚ आत्महत्याका कारण र रोकथामको उपायको बारेमा जानकारी गराउनुभएको थियो । स्वस्थ आहार विहार र योग ध्यानले मानिसलाई स्वस्थ बनाउने उहाँले बताउनुभयो । जसले गर्दा मानसिक समस्यालाई पनि कम गर्न सकिने उहाँको भनाई छ । मानसिक समस्याको कारण अहिले आत्महत्याका घटनाहरु बढेको बताउदै प्रमुख जिल्ला अधिकारी शर्माले यसलाई कम गर्न पनि योग महत्वपूर्ण रहेको बताउनुभएको छ ।
प्रहरी नायव उपरिक्षक अन्जना श्रेष्ठले नेपाल प्रहरीले समुदायमा प्रहरी साझेदारी कार्यक्रम मार्फत मानसिक स्वास्थ्य‚ आत्महत्या रोकथाम लगाएतको बारेमा सचेतनामुलक कार्यक्रम गर्दै आएको जानकारी गराउनुभएको छ । उहाँले यस जिल्लामा यस अघिका दुई आर्थिक वर्षमा १२/१२ जना चालु आर्थिक वर्षको अवधिमा एक जनाले आत्महत्या गरेको तथ्याङ्क रहेको जानकारी गराउनुभएको छ । आत्महत्या गर्नेहरुमा ११ वर्षदेखी ७० वर्ष उमेरसमुहका रहेको उहाँले जानकारी दिनुभएको छ । आत्महत्या समस्याको समाधान होइन‚ समस्या समाधानको लागि अन्य थुप्रै उपायहरु छन् भन्ने कुरा आफुले पनि बुझ्न र अरुलाई पनि बुझाउन उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।
कार्यक्रममा आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख आचार्यले योग‚ योगका फाइदा र योग गर्दा ध्यान दिनुपर्ने कुराहरुबो बारेमा जानकारी गाराउनुभएको थियो । आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पूर्वले जिल्लामा विभिन्न क्षेत्रहरुका जस्तैः शिक्षक‚ विद्यार्थी‚ गृहणी‚ सरकारी कार्यालयका कर्मचारी‚ समुदायका मानिसहरुको लागि योग र ध्यान सम्बन्धिका कार्यक्रमहरु संचालन गर्दै आएको छ । यसले सकारात्मक प्रभाव पारेको पनि देखिएको छ ।